स्याङ्जा २० असोज । ‘जेन–जी आन्दोलन’ को मौका छोपेर कारागारबाट भागेका २ जना कैदीबन्दी स्याङ्जाबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वालिङ नगरपालिकाका ३५ वर्षीय मदन माझी हुन भने अर्का बिरुवा गाउँपालिकाका एक बालक छन ।
‘जबरजस्ती करणी’ मुद्दाका दोषी ठहर भई दुबै जनाले कैद सजाय भोग्दै गरेको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिनुभयो ।
भदौ २४ गते फरार उनीहरुलाई विशेष सूचनाका आधारमा असोज १९ मा पक्राउ गरिएको प्रहरीको भनाई छ । दुुबैलाई आवश्यक कानूनी कारबाहीका लागि प्रहरीले जिल्ला कारागार स्याङ्जा पठाएको छ ।
माझी काठमाडौंको केन्द्रीय कारागार जगन्नाथदेवलबाट र अर्का व्यक्ति बाल सुधार गृह पोखराबाट फरार भएका हुन ।
आन्दोलनका क्रममा कारागारबाट भागेका मध्ये स्याङ्जा प्रहरीले अहिलेसम्म ८ जना पक्राउगरी कारागार शाखा चलान गरिसकेको छ । यसअघि कास्की कारागारबाट भागेका ३ जना, काठमाडौं केन्द्रीय कारागारबाट भागेका २ जना, तनहुँ दमौली कारागारबाट १ जना पक्राउगरि कारागार चलान गरिसकेको छ ।