स्याङ्जा २४ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत स्याङ्जाका महिलाहरुबीच भएको गायन तथा पञ्चेबाजा प्रतियोगितामा एकुबार आमा समूह भिरकोट नगरपालिका प्रथम भएको छ ।
राम्चेदेवी उद्यमशिल महिला समूह फेदीखोला द्धितीय भएको छ । यसैगरी, मातृभूमि आमा समूह पुतलीबजार र विर्घा महिला पञ्चेबाजा समूह कालिगण्डकी तृतीय र सान्त्वना भएका छन् ।
एकिकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा भएको कार्यक्रममा महिलाहरुले विभिन्न लय र रागमा पञ्चेबाजाको प्रस्तुती सँगै महिलाहरुले भोगेका हिंसाका घटना र नारी अधिकारका विषय समेटेर गीत समेत गाएका थिए ।
प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमश ः १२ हजार, ८ हजार, ६ हजार, ४ हजार नगद र प्रमाणपत्र पाएका छन् । कार्यक्रममा उत्कृष्ट सनाई र ढोलक बजाउने महिलालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै भिरकोट नगरपालिका नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले मौलिक संस्कृति जगेर्नामात्रै नभएर महिलाहरु हरेक क्षेत्रमा सक्षम छन् भन्ने कुरा स्थापित भएको बताउनुभयो ।
निवर्तमान प्रमुख छायाराम खनाल, उपपप्रमुख भगवती अर्यालले पञ्चेबाजाको प्रतिस्पर्धाले संस्कृतिको संरक्षण र सीप विकासमा टेवा पुग्नेमा जोड दिनुभयो ।
एकिकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले संस्कृतिको संरक्षण, पुस्तान्तरण तथा आयआर्जनमा टेवा पुग्ने र परम्परागत रुपमा बाजा बजाउने जाती र समुदायको पेशालाई सम्मान गर्दै उनीहरुलाई प्रोत्साहन र टेवा पुग्ने विश्वास व्यक्त गरे । उहाले लैङ्गकि हिंसा विरुद्ध प्रविधिको सदुपयोग गर्दै महिलाहरु पनि हरेक क्षेत्रमा सक्षम रहेको प्रमाणीत भएको र सामाजिक न्याय र समानतामा आधारित समाजको निर्माणमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
प्रहरी निरक्षिक सागर कार्कीले प्रविधिको सदुपयोग र साइबर सुरक्षाबारे प्रशिक्षण दिनुभएको थियो भने राष्ट्रिय लोकदोहोरी गायक लोकनाथ सापकोटाले गीत गाउनुभएको थियो ।
कार्यालयका प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सञ्चारकर्मी विक्रम परियारले गरेका थिए ।
