स्याङ्जा २१ मंसिर । श्रवण माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चद्धारा शनिवार पुतलीबजार नगरपालिका १४ स्थित श्रवण माध्यमिक विद्यालयमा गरिएको रक्तदानमा ४० युनिट रगत संकलन भएको छ ।
गएको कार्तिक ७ गते सवारी दुर्घटनामापरी निधन भएका सोही बिद्यालयका पूर्वबिद्यार्थी माधवप्रसाद लम्सालको ४५ औं दिनको पुण्यतिथी पारेर आयोजित खुला रक्तदानमा सो रगत संकलन भएको हो ।
लम्साल नेपाल सरकारका वहालवाला उपसचिव । स्याङ्जामा बसेर फलफूल, पशुपालन तथा अन्न उत्पादनका क्षेत्रमा उहाँको योगदान धेरै थियो । बिशेषगरी स्याङ्जामा सुन्तला सुपरजोन, आँप, लिचि, मसला तथा भैसीपालन जोनका परियोजना कार्यान्वयगरी सयौं किसानलाई प्रत्यक्ष लाभान्वित बनाउन सफल हुनुभयो ।
रक्तदान कार्यक्रमको उदघाटन गर्दै स्याङजा जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष अधिवक्ता तुलसी गिरीले लम्साल जिल्लाकै एक उदाहरणीय एवं नमूना पात्र भएको जनाउदै सबैको भलो गर्ने गरेको स्मरण गर्नुभयो । लम्सालको निधनले उहाको जन्मथलो मात्र नभई सिंगो जिल्लाले एक कर्मठ र कर्तब्यनिष्ठ कर्मचारी एवं भाईचेला गुमाउनु परेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सोही बिद्यालयका पूर्वबिद्यार्थी एवं स्वर्गिय लम्सालका सहपाठी रबिन्द्र के.सी.ले लम्सालले बिद्यालय, समाज र जिल्लाका लागि पुरयाएको सहयोग र योगदानको चर्चा गर्दै सधैंभरी स्मरणमा रहीरहने जनाउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी स्याङ्जाका सभापति दिनेश अर्याल, सदस्य विश्वेश्वर गिरी, परिवारको सदस्यहरुको तर्फबाट पृथ्वी लामिछाने लगायतले स्व.माधव लम्सालको सामाजिक योगदानलाई जिवन्त राख्दै कृषि क्षेत्रमा उहाँले गरेको अविश्मरणीय कार्यको सधैं स्मरण गरिरहनेमा जोड दिनुभयो ।
पूर्व विद्यार्थी मञ्चका अध्यक्ष अमृत लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सन्तोष भण्डारीले स्वागत एवं सहसचिव उषा थापाले संचालन गरेकी थिईन । रक्तदानमा रेडक्रस सोसाईटी स्याङ्जाको प्राविधिक सहयोग थियो ।
