स्याङ्जा १४ भदौ । जिल्ला न्यायाधीश बासुदेव पौडेलको पर्वत सरुवा भएपछि स्याङजा जिल्ला अदालत, बार एशोसियशन र कर्मचारी मिलन केन्द्रले अलगअलग कार्यक्रमको आयोजनागरी शुक्रवार बिदाई कार्यक्रमको आयोजना गरेका छन् ।
सर्वोच्च र उच्च अदालतबाट देशभरका न्यायाधीश मध्ये गतबर्ष न्याय सम्पादनमा उत्कृष्ट भएको प्रमाणपत्र पाएका न्यायाधीश पौडेललाई यसपटक उच्च अदालत प्रवेशमा भने रोक लगाइएको छ । जिल्ला न्यायाधीशहरु मध्ये बरिष्ठ न्यायाधीशको सूचीमा रहेका र कार्यसम्पादन तथा न्याय सम्पादनमा अब्बल दरिएका पौडेललाई उच्च अदालतको ढोका किन बन्द गरियो ? सर्वत्र चर्चाको बिषय बनेको छ ।
बिदाई कार्यक्रममा सहभागी हुदै न्यायाधीश पौडेलले आफू राष्ट्रसेवक भएकाले राष्ट्रले दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने बताए ।
स्याङ्जा बारका उपाध्यक्ष संगीता नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा बारका पूर्वअध्यक्ष रामेश्वर अर्याल युगनारायण श्रेष्ठ, चन्द्रबहादुर केसी, प्रकाश अर्याल र दुर्गानारायण ढकाल र पत्रकार ओमप्रकाश शर्माले न्यायधीश पौडेलको आगामी ब्यवसायिक जीवन सफल होस् भन्ने शुभेच्छा प्रकट गरेका थिए ।
