स्याङ्जा ९ भदौ । वालिङ नगरपालिका –६, मिर्दीमा ‘निर्बन्ध (आख्यान र काव्य) लेखनको विमर्श एवम् रचना वाचन गोष्ठी गरिएको छ ।
कार्यक्रममा वैकल्पिक बाटो पृथक पाइला स्याङ्जाका संस्थापक संयोजक मिलन समीरले निर्बन्ध लेखनमाथि केन्द्रित रहँदै सहजीकरण गरेका थिए । उनले निर्बन्ध विधालाई नेपाली साहित्यमा वैकल्पिक बाटो र नयाँ सिर्जनात्मक खोजका रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
रचना वाचन सत्रमा मिलन समीरले ‘मान्छेको मृत्यु’, संस्थापक शम्भु अर्यालले ‘दिवस एक विद्रोह’, संस्थापक वसन्त खनालले ‘तिमीले बिर्सियौ भने’, अभियन्ता पारिश्वर न्यौपानेले ‘मलाई मन पर्छ’ शीर्षकका निर्बन्ध काव्य वाचन गर्नुभएको छ । त्यस्तै, गुरुप्रसाद ढकालले निर्बन्ध गजल प्रस्तुत गर्नुभएको थियो ।
सहभागी लेखकहरूले निर्बन्ध लेखनलाई कथा, कविता, गजल र आख्यानबीचको नयाँ विधागत अभ्यासका रूपमा अगाडि बढाउन सकिने निष्कर्ष निकालिएको छ । यसलाई नेपाली साहित्यको इतिहासमै एक फरक र सृजनात्मक प्रयोगको रूपमा लिइएको छ ।
स्याङ्जामा साहित्यिक पुनर्जागरण अभियानको छैटौँ वर्ष उत्सवको अवसरमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान–२०७६ अन्तर्गत ३५ औँ पाइलाको रूपमा नेपाली साहित्यमा पहिलोपटक निर्बन्ध लेखन कार्यक्रम गरिएको हो ।