स्याङ्जा ११ साउन । अर्जुनचौपारी गाउँपालिकामा निर्मित नेपालकै पहिलो नवग्रह तथा पञ्चकन्या जलबराह मन्दिर परिसरमा १२ राशिका तथा नवग्रहका विरुवा रोपिएको छ ।
मन्दिर परिसरमा राशि र नवग्रह वाटिका स्थापना गर्ने उद्देश्यले वृक्षारोपण गरिएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष भरत पोखरेलले जानकारी दिनुभयो ।
अध्यक्ष पोखरेलले, “हामीले यसअघि नक्षत्र वाटिका निर्माण गरेका थियौँ, अब राशि वाटिका र नवग्रह वाटिका समेत पूर्ण रूपमा स्थापना भइसकेको छ। हाम्रो उद्देश्य अब यस पवित्र स्थललाई नेपालकै नमुना धार्मिक–प्राकृतिक अध्ययनस्थलको रूपमा विकास गर्नु हो।”
धार्मिक श्रद्धा, पर्यावरणीय चेतना, र सांस्कृतिक पुनर्जागरणको अनुपम संगम बनाउने लक्ष्य सहित १२ राशि र ९ ग्रहसँग सम्बन्धित धार्मिक विधिपूर्वक पूजा–विधान सहित ती विरुवा रोपिएका छन् । भीरकोट जेसीजको आयोजनामा नवग्रह मन्दिर र पञ्चकन्या मन्दिर व्यवस्थापन समितिका संयुक्त समन्वयमा ती विरुवा रोपिएका हुन ।
मेष राशि अन्र्तगत – रक्त चन्दन, बृषको – छत्तिवन, मिथुनको – रुख कटहर, कर्कटको – पलाश, सिंहको – बयर, कन्याको – जंगली आँप, तुलाको – अर्जुनवृक्ष, वृश्चिकको – खयर, धनुको – पिपल, मकरको – सिसौं, कुम्भको – कदम, मीनको – वरका विरुवा रोपिएका छन ।
यसैगरी, नवग्रह बाटिकामा सूर्य – आँक, गुरु – पिपल, केतु – कुश, शनि – शमी, राहु – दुवो, मंगल – खैर, चन्द्र – पलाश, शुक्र – गुलरबुध, बुध – दत्तिवनका बिरुवा मानिएका छन् ।
कार्यक्रममा शास्त्रीय विधिअनुसार वृक्षारोपण अगाडि प्रत्येक बिरुवालाई मंत्रोच्चारण गरेर विधिपूर्वक पूजाआजा गरिएको थियो।
भीरकोट जेसीजका सदस्यहरू, समितिका पदाधिकारीहरू, र भक्तजनहरूको संलग्नताले पवित्रता, शुद्धता र सांस्कृतिक सजीवता झल्काउने वातावरण सिर्जना भएको सहभागिहरुले बताएका छन ।

कार्यक्रमलाई धार्मिक वृक्ष परम्पराको पुनस्र्थापना, वातावरण संरक्षण, र धर्म–संस्कृतिको संवद्र्धनतर्फको एक गहन अभियानका रूपमा लिइएको छ ।
वृक्षरोपणमा भीरकोट नगरपालिका ७ का अध्यक्ष तारा अर्याल, भीरकोट जेसीजका अध्यक्ष शिव खनालले “आजको यो कार्यले भावी सन्ततिलाई आध्यात्मिक चेतना, प्रकृतिप्रेम र संस्कारयुक्त जीवनको मूल सन्देश रहेको बताउनुभयो । यो केवल आजको रोपाइँ मात्र होइन, पुस्तौंदेखि पुस्तासम्म टिक्ने संस्कारको विरुवा रोपिएको दिन भएको उहाका भनाई थिए ।
यसअघि पनि सो मन्दिर परिसरमा २७ वटा नक्षत्र वृक्षहरू रोपिसकिएको सचिव लालबहादुर क्षेत्रीले भन्नुभयो ।