स्याङ्जा १ कात्तिक । स्याङ्जा जिल्ला प्रशासन कार्यालयले राती ९ बजेसम्म देउसी भैलो खेल्न पाईने जनाएको छ । तिहार सुरुभएसंगै पर्वलाई शान्तिपूर्ण, मर्यादित र सभ्य तरिकाले मनाउन भनिएको छ ।
देउसी भैलो लगायतका सांस्कृतिक पर्व मनाउदै गर्दा सार्वजनिक जीवन र यातायात असर नपर्नेगरी मर्यादित र अनुशासित खेल्न खेलाउन आग्रह गरेको हो ।
तिहार सुरुभएसंगै पर्वलाई शान्तिपूर्ण, मर्यादित र सभ्य तरिकाले मनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलद्वारा हस्ताक्षरित अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै पर्वलाई सांस्कृतिक परम्परा अनुसार उत्सव मनाउन भनिएकोे छ ।
तिहारको समयमा बिजुली तथा मैनबत्तीका प्रयोग सावधानीपूर्वक गर्न, मदिरा सेवन नगर्न, होहल्ला सहित भीडभाड, हुलहुज्यतजन्य गतिबिधि नगर्न, सवारी यात्रुसंग बढी रकम नलिन र सभ्य भाषा प्रयोग, क्षमताभन्दा बढी यात्रु नराख्न आग्रह गरिएको छ ।
यसैगरी, भूमिगत पटका, आतिशबाजीका सामान, विष्फोटक पदार्थ बिक्री, वितरण वा प्रयोग नगर्न र जुवातास, कौडा, लङगुरबुर्जा जस्ता पैसाको हारजीत हुने खालका नखेल्न र नखेलाउन पनि सूचित गरिएको छ ।
बजारमा कृत्रिम अभाव, जम्माखोरी, कालोबजारी तथा मूल्यवृद्धि सहित म्याद गुज्रेका सामाग्री बिक्री तथा खरिद नगर्न पनि सूचनामा उल्लेख छ । चाडपर्वका बेला घर छाडी जानुपर्ने अवस्थामा घरको सुरक्षा सम्बन्धी पर्याप्त ब्यवस्था मिलाउन र यात्रामा बहुमुल्य गरगहनाको प्रयोगमा उचित सावधानी अपनाउन प्रशासनको सुझाव छ ।
प्रशासनको आग्रहलाई अवज्ञागरि कुनैपनि गतिबिधि भए गरेमा प्रचलित कानून बमोजिम कारवाही गरिने केही समस्या भएमा प्रहरी कन्ट्रोल नं. १०० मा सम्पर्कगरि जानकारी गराउन समेत आग्रह गरिएको छ ।