स्याङ्जा २ साउन । बाडखोला मुस्लिम समाजले एसईइमा उत्कृष्ट जिपिए ल्याई ग्रडेड हुने बिद्यार्थीहरुलाई शुक्रवार सम्मान गरेको छ ।
पुतलीबजार नगरपालिका ३ स्थित नुरी इस्लामिक मदर्शा, बाडखोलामा आयोजित सम्मान कार्यक्रममा पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी र समाजका अध्यक्ष अलि मोहम्मद मियाले सम्मानपत्र र नगदले सम्मान गर्नुभएको हो ।
सम्मानपछि बोल्दै प्रमुख रेग्मीले लगनशिलपूर्वक नियमित अध्ययनले जुनसुकै बिद्यामा पनि उत्कृष्ट हुन सकिने बताउदै उत्कृष्ठ नतिजा ल्याउन सफल बाबुनानीलाई बधाई दिनुभयो ।
बिगतका दिनमा अध्ययनका लागि जिल्ला बाहिर जानु पर्ने वाध्यता नभएको जनाउदै आफुल सवइन्जिनियर पढ्न चाहने बिद्यार्थीका लागि ५० प्रतिशत छात्रबृत्तिको सुबिधा दिदै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एउटा बिद्यार्थीका लागि सो कोर्ष पुरा गर्न २ लाख ५ हजार आवश्यक पर्छ । तर, सो कोर्षका लागि प्रति बिद्यार्थी १ लाख ५ हजार छात्रबृत्ति दिएको छु ।’ पुतलीबजार अन्र्तगतका १४ वटै वडाका २÷२ जना जेहेन्दार बिद्यार्थीलाई लक्षित गर्दै सो अभियान नगरपालिकाले संचालन गरेको छ ।
हिजो पढ्ने बिद्यार्थी धेरै थिए । सेवा सुबिधा थिएन । आज सेवा सुबिधा धेरै छन, तर बिद्यार्थी छैंनन, उहाँले भन्नुभयो ।
बिदेश जाने मनसाय त्यागेर स्वदेशमै रहनेगरी अध्ययन गर्नुहोस । आफनै जन्मभूमि र आमा बुवासंगै रमाउनुहोस् । शिक्षा र संस्कार सिक्नुहोस । बिदेशी मोह क्षणिक हो । परिश्रम गर्नेलाई सबैथोक यही छ । सहभागी बाबुनानीलाई सुझाव दिदै प्रमुख रेग्मीले सुझाव दिनुभयो ।
कार्यक्रममा सोही वडा सदस्य अमिरबक्स मिया, मुस्लिम संघ गण्डकी प्रदेश सभापति शाह मोहम्मद मिया, मुस्लिम स्तेहाद संगठन गण्डकी प्रदेश अध्यक्ष शेर अलि, बाडखोला मुस्लिम समाजका निवर्तमान अध्यक्ष सैसुद्धिन मिया, समाजसेवी दिर्घनारायण शर्मा, मुस्लिम समाजका सचिव मोहम्मद हुसेन, प्याब्सन जिल्ला अध्यक्ष राजेन्द्र गोदार, पत्रकार द्धय रमेश गोदार र भवानी अधिकारी, स्थानीय समाजसेवी लक्ष्मण श्रेष्ठ लगायतले शुभकामना सहित ग्रेडेड हुनेहरुको उज्वल भविष्यको कामना सहित बधाई दिनु भएको थियो ।
स्याङ्जा बाडखोला मुस्लिम समाजका अध्यक्ष अलि मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शा खालिद मियाले स्वागत र सहसचिव अमिर आलमले संचालन गर्नुभएको थियो ।
सोही कार्यक्रमा ३ दशमलब ७ जिपिए ल्याउन सफल भएका २० जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा त्रिभुवन आर्दश नमूना माध्यमिक बिद्यालय, रोशनी आवासिय मावि, ज्योती आवासिय मावि, सरस्वती माध्यमिक बिद्यालय र शिशु निकेतनका बिद्यार्थी हुन ।