स्याङ्जा १६ भदौ । स्थानीय पुतलीबजार नगरपालिका वडा नं. ३ निवासी सुरेन्द्रमान भन्ने भूमिनारायण श्रेष्ठले आफनो आमोदकमोद भएको नम्बरी जग्गामा पुतलीबजार नगरपालिकाले बिना अनुमति प्रगतिनगर—बहाकोट—कोल्मा—काल्खु खडक बिस्तार गर्ने क्रममा कटानगरी क्षति पुरयाएकाले उक्त जग्गाको मुआब्जा तथा क्षतिपूर्तिको माग गर्नुभएको छ ।
विश्व बैंकको सहुलियतपूर्ण ऋणमा बिस्तार गरिएको सो सडक भूमिनारायण लगायत दर्जनौ उपभोक्ताको जग्गा जानकारी बिना खन्ने, दाँयाबाँया बिस्तार गर्ने र ढुंगा माटो थुपार्ने गरिएको छ । अन्य उपभोक्ता चुप लागे पनि भूमिनारायण भने न्यायको खोजीमा सम्मानित अदालतसम्म जाने बताउनुभयो ।
पुतलीबजार नगरपालिका वडा नं. ३ चितिकुना भन्ने ठाउँमा आमेदकमोद गरिएको कि.नं. ८८९ को २ रोपनी १४ आना २ पैसा ३ दाम र कि.नं. ३१९ मा पर्ने एक रोपनी ३ आना २ पैसा ० दाम क्षेत्रफलको जग्गा बाटोमा परेको छ । पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले श्रेष्ठलाई अन्याय हुन नदिन ३९ घनमीटर तारजाली लगाइएको, जग्गा संरक्षणकालागि थप मद्धत गर्न नगरपालिका तयार रहेको जानकारी दिनुभयो । उहाले भन्नुभयो —नागरिकको ब्यक्तिगत सम्पतिमा धावा बोल्ने नगरपालिकाको कुनै मनसाय छैन । विश्व बैंकको ५६ करोड ऋण सहयोगमा ७ दशमलब ६ मिलोमीटर सडक बिस्तारसंगै कालोपत्रे गरिएको छ । श्रेष्ठले २ लाख रुपैंया क्षतिपूर्ति र मुआब्जा माग गर्नुभएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले जग्गाको बास्तविक अवस्थाको भिडियो क्लीप पनि देखाउनु भएको थियो । यसै महिनाको २५गतेसम्म माग पूरा नगरिए, नगरपालिका अगाडि अर्धनग्न भएर आमरण अनसन बस्ने समेत उहाले चेतावनी दिनुभयो ।