स्याङ्जा १९ कात्तिक । शुक्ल पक्षको अन्तिम दिन बुधवार पूर्णिमा हो । हिन्दू धर्मालम्बीहरुका लागि कार्तिक पूर्णिमाको विशेष महत््व रहेको छ । यो दिन स्वर्गबाट सबै देवीदेवताहरु पृथ्वीलोकमा आउने विश्वास गरिन्छ ।
देवीदेवताहरु पृथ्वीलोकमा आउने र नदी किनारमा स्नान गर्न जाने विश्वासका साथ यो पूर्णिमामा घाटहरु, नदी किनारहरुमा विशेष सरसफाई गरिन्छ, दीप प्रज्वलन पनि गरिन्छ । कार्तिक पूर्णिमामा लिइने व्रत, पूजा–पाठको विशेष महत्त्व भएको हिन्दू धर्मालम्बीहरु विश्वास गर्छन् ।
सो दिन दान गर्नाले यो जन्ममा मात्र होइन, आगामि जन्ममा पनि पुण्य मिल्ने विश्वास गरिन्छ । सनातन हिन्दू धर्मालम्बीहरुले धेरै पहिलेदेखि बनारस, हरिद्वार, मथुरा, प्रयागराज, बराहक्षेत्र, मुक्तिक्षेत्र लगायत ठाउँमा पूर्जाअर्चना गर्छन् । पूर्णिमामा चन्द्रमा पूर्ण आकारको देखिन्छ र अरु दिनभन्दा बढी चम्किलो देखिन्छ । विज्ञानका अनुसार सूर्यको प्रकाश पृथ्वीले नछेकी चन्द्रमामा पर्ने भएकाले यो दिन चन्द्रमा विशेष चहकिलो देखिने गर्छ । कार्तिक पूर्णिमामा तुलसीको पूजा पनि गरिन्छ । यसलाई विशेष महत्त्वका साथ पनि हेरिन्छ ।
कार्तिक पूर्णिमाको दिन भगवान शिव र विष्णुको आरधना पनि गरिन्छ । भगवान विष्णुलाई गरिने विशेष पूजा अर्चनालाई सत्यनारायणको पूजाको रुपमा पनि लिइन्छ । सामान्यतया सत्यनारायणको पूजा जहिले गरे पनि हुन्छ । तर, पूर्णिमाको दिन सत्यनारायणको पूजा गर्दा विशेष फल मिल्ने विश्वास गरिन्छ । धर्मग्रन्थहरुमा उल्लेख भएअनुसार आजको दिन मानसिक कष्टबाट मुक्ति पाउन चाहने, पारिवारिक शान्ति र समृद्धि चाहने र अचानक डराउने समस्याबाट मुक्ति चाहने वा मानसिक चिन्ताबाट ग्रसितहरुले यसबाट छुटकारा पाउन पूर्णिमा व्रत लिँदा निकै राम्रो हुन्छ । दीपदान गर्दा ऋणबाट मुक्ति मिल्ने, तुलसी पूजा गर्दा मनोकामना पूरा हुने, व्रत बस्दा अग्निष्टोम यज्ञ गरे बराबरको फल प्राप्त हुने विश्वास गरिन्छ ।
श्रद्धाभाव सहित भगवानको स्मरण गर्दा मात्रै पनि पारिवारिक शान्ति छाउने र परिवारमा सुख फैलिने पनि विश्वास गरिन्छ । कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चतुर्मास समापन गरिने चलन छ । यो समयमा भगवान् विष्णु निद्रामा हुने भएकाले शुभ तथा मङ्गल कार्यहरू रोकिएको मानिन्छ । आजबाट फेरि शुभ कार्यको थालनी गर्न सकिन्छ, नयाँ सुरुवात गर्न सकिन्छ भन्ने विश्वास रहेको छ ।
स्याङ्जामा बुधवार साँझ मकै सुकाउने पर्व मनाइएको छ ।
यहाँका नेवार समुदायले परम्परागत रुपमा मनाउँदै आएको मकै सुकाउने पर्व गएराती धुमधामका साथ मनाइएको हो । नेवार समुदायले जुनको उज्यालोमा सामूहिकरुपमा मकै सुकाएर पर्व मनाएका हुन । आँगनमा ओछ्याएर भुटेको मकै, बदाम, भटमास, चना, केराउ लगायतका खाद्यान्न तथा फलफूल राखिएको थियो । यसरी सुकाएको अन्नलाई प्रसादका रुपमा ग्रहण गर्ने चलन छ । कात्तिक शुल्क पूर्णिमाको रातमा अमृत वर्षा हुने भएकाले भुटेको मकै, बदाम, भटमास, चना केराउ लगायतका गेडागुडी, फलफूल, शखरखण्डका साथै खाद्यान्न जुनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ पर्व मनाउने गरिएको भनाइ छ ।
शुक्ल पूर्णिमाको दिन जुनको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र प्राचन प्रणाली स्वस्थ्य र बलियो हुने धार्मिक विश्वास समेत रहेको छ । यो पर्व परम्परागत रुपमा नेवार समुदायले घरघरमा अन्न सुकाएर मनाउने गरेको भए पनि अहिले भने संस्कृति र परम्पराको संरक्षणका लागि सामूहिकरुपमा मनाउन थालिएको छ । परम्परा र संस्कतिलाई पुस्तान्तरण गर्दै लैजाने उद्देश्यका साथ लामो समयदेखि मनाउन थालिएको हो । तर, स्याङ्जा बजारमा हराउदै गएको चलनचल्तीलाई पुतलीबजार नगरपालिका १ निवासी लालप्रसाद श्रेष्ठ र उनका पत्नी टोलमाया श्रेष्ठले जुनमा मकै सुकाएर, भगवान बिष्णुको पुजाआराधना गर्दै भजनकृतनगरि मनाएका छन् ।
