स्याङ्जा १२ असोज । पुतलीबजार नगरपालिका ३ स्थित भैरब आमा समूहद्धारा आयोजित १५ दिने मादल बजाउने तालिम शनिवार सम्पन्न भएको छ । समूहले महिला दिदीबहीनीलाई लक्षित गर्दै तालिमको आयोजना गरेको हो ।
तालिम समापन तथा सम्मान कार्यक्रममा बोल्दै पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले मादल बजाउन जान्नु भनेको हाम्रो कला, संस्कृतिको संरक्षण संगै सीपको विकास गर्नु भएको बताउनु भएको छ । सामाजिक तथा धार्मिक जुनसुकै कार्यमा पनि मादलको तालले रमणीय बनाउने हुदा महिलाहरुका लागि यस्ता सीप सिक्नु आवश्यक रहेको बताउनुभयो । १५ दिनमा आधारभूत तालिम लिएका महिला दिदीबहीनीलाई थप एडभान्स तालिम लिन सुझाव दिनुभयो । हर क्षेत्रमा महिला प्रतिनिधित्व बढेको बताउदेै उहाले हरेक क्षेत्रमा अग्रसरता लिन सुझाव दिनुभयो ।
कार्यक्रममा वडा सदस्य सोमबहादुर कुवर र सविता नेपाल, महिला नेतृ तारा मल्ल र धनकुमारी थापा, शिशु निकेतन बिद्यालयका प्रधानाध्यापक मनोज मल्ल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, सरस्वती माविका प्रधानाध्यापक कृष्ण गोदार, स्थानीय समाजसेवी पदम गोदार र किरण केसी, सूर्योदय महिला समूहका अध्यक्ष तारा श्रेष्ठ, भैरव आमा समूहका पूर्व अध्यक्ष कल्पना गोदार लगायतले तालिमको आवश्यकता र महत्वका बारेमा जानकारी गराउनुभएको थियो ।
आमा समूहका अध्यक्ष केशकुमारी गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पूर्व सचिव खुमकुमारी गोदारले स्वागत पूर्वअध्यक्ष सीता गोदारले धन्यवाद एवं सचिव मधु गोदारले संचालन गर्नुभएको थियो । तालिममा झपटबहादुर आलेले प्रशिक्षण दिनुभएको थियो । सोही कार्यक्रमका पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारीलाई सम्मान एवं झण्डै एक दर्जन जतिलाई मायाको चिनो प्रदान गरिएको थियो ।
तालिमका अवधिमा राम्रोसंग मादल बजाएको भन्दै केशकुमारी गोदार, पवित्र गोदार, मनकुमारी गोदार र लक्ष्मी गोदारलाई पुरस्कृत एवं सम्मान गरिएको थियो ।