स्याङ्जा १६ असार । मध्यअसार सकिंदा स्याङ्जामा करिब ३० प्रतिशत धान रोपाई सकिएको अनुमान गरिएको छ ।
कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिनोद हमालले यसबर्ष समग्र जिल्लालाई आधार मान्दा धान खेती गरिने जमिनको क्षेत्रफलको ३० प्रतिशत रोपाई सकिएको जानकारी दिनुभयो ।
उहाका अनुसार, ‘सबैभन्दा धेरै फेदिखोला गाउँपालिकामा ९० प्रतिशत र सबैभन्दा कम कालीगण्डकी गाउँपालिकामा ५ प्रतिशत क्षेत्रफलमा धान रोपाईं भएकोे छ । यसैगरी, आँधीखोला गाउँपालिकामा ८० प्रतिशत, पुतलीबजार नगरपालिकामा ४५ प्रतिशत, भीरकोट नगरपालिकामा ४० प्रतिशत, हरिनास गाउँपालिकामा ३५ प्रतिशत, वालिङ् नगरपालिका र अर्जुनचौपारी गाउँपालिकामा ३०÷ ३० प्रतिशत, विरुवा गाउँपालिकामा २५ प्रतिशत, गल्याङ् नगरपालिकामा २० प्रतिशत, चापाकोट नगरपालिकामा १० प्रतिशत भएको छ। ’
जिल्लाका उत्तरतर्फ छिटो रोपाई गर्ने र दक्षिण भूभागमा अलि ढिलो रोपाई हुने गर्दछ। कतिपय खेतमा मकै भएकाले पनि रोपाईंमा कठिनाई भएको हो ।
यसपटक छिटो बर्षा भएका कारण टारी खेतमा पनि रोपाईं पुरा भएका छन्। यहाँ रामधान, सावित्री, जेठोबुडो, सुनौलो सुगन्धा र स्थानीय धान रोप्ने गरेका छन ।
जिल्लाभर १४ हजार हेक्टर क्षेत्रफलमा बर्षे धान र ७ हजार हेक्टरमा हिउदे धान रोप्ने गरिन्छ। गतबर्ष ५७ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि प्रधान देश मानिएकोले कृषि ज्ञान केन्द्र सहित यहाँका ११ वटै स्थानीय पालिकाले धान खेती सहित कृषिमा आर्कषण बढाउन पालिकाले धानका बीउ र यान्त्रिकरणमा किसानलाई अनुदान दिदै आएका छन ।