स्याङ्जा ७ जेठ । स्याङ्जा सदरमुकाममा गरिएको लागु पदार्थ सेवन (लापसे) परिक्षणमा ३ जना चालकले लागु पदार्थ सेवन गरेर सवारी चलाएको भेटिएको छ ।
सिद्धार्थ राजमार्ग भै गुडेका सवारी साधनमध्ये ३० जना चालकमा गरिएको परिक्षणमा ३ जनाले सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा स्याङ्जाका ३१ बर्षिय चोकबहादुर गुरुङ, बाराका ३५ बर्षिय सुजन लामा र २२ बर्षिय खगेन्द्र भुषाल रहेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिनुभयो ।
सवारी दुर्घटनामा न्यूनिकरण गर्नुका साथै मर्यादित र सुरक्षित यात्राका गराउने उदेश्यले जिल्ला प्रहरी कार्यालयले लापसे परिक्षण अभियान सुरु गरेको हो। अभियानलाई गण्डकी यातायात प्रा.लि. र जिल्ला अस्पताल स्याङ्जाले सामाग्री सहित प्राबिधिक सहयोग उपलब्ध गराएको छ ।
प्रालिका अध्यक्ष भानुभक्त बरालले प्रहरी उपरीक्षक दधिराम न्यौपानेलाई १ सय १५ सेट टिएचसी टेस्ट किट हस्तान्तरण गर्नुभएको थियो । सोही किट मार्फत चालकले लापसे गरे नगरेको परिक्षण गरिनेछ । पिसाब परीक्षण गरेको ५ मिनेटमा नतिजा प्राप्त गर्न सकिने बताईएको छ ।
नागरिकका जीउ, धनको सुरक्षार्थ चालक र सहचालको लापसे परिक्षण अभियान सुरु गरेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी गराउनुभयो । उहाका अनुसार, ‘अभियानलाई राजमार्ग सहित भित्री सडकमा गुडाउने चालकको पनि लापसे परिक्षण कार्यलाई निरन्तरता दिईने छ ।’
सिद्धार्थ राजमार्ग पोखरा — सुनौली अन्र्तगत स्याङ्जा खण्ड पारे गर्दै दिनहुँ निजी तथा सार्वजनिकगरि सयौं सवारी साधन गुड्ने गर्दछन। प्रहरीले गरेको एक घण्टे अभियानमा सो नतिजा देखिएको हो ।
प्रहरी उपरीक्षक दधिराम न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गण्डकी यातायात प्रालिका पूर्वसचिव दिपक लम्सालले गर्नुभएको थियो ।
