स्याङ्जा १९ मंसिर । २२ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर पुतलीबजार नगरपालिकाले लैंगिक हिंसा बिरुद्धको अभियान सम्बन्धी अभिमूखीकरण, खुला रक्तदान सहित महिला स्वयंसेविकाहरुलाई सम्मान गरेको छ ।
ती कार्यक्रमका उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले पुतलीबजार नगरपालिकाका १४ वटै वडा भित्रका सबै महिला स्वास्थ्य स्वयंसेविकाको निशुल्क स्वास्थ्य बिमा गरिने बताउनुभयो । यसअघि पनि बोटे, माझी, गन्धर्व, कुमाल जातिको निशुल्क स्वास्थ्य बिमा गरिसकेको जनाउदै अब नगर सरसफाईकर्मी र स्वास्थ्य स्वयंसेवीकाको निशुल्क बिमा गर्ने जानकारी दिनुभयो ।
सामाजिक सेवामा क्रियाशिल महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका पहिलो चिकित्सक भएको प्रमुखले जनाउनुभयो । अझै पनि गाउँघरमा स्वयंसेविकाका राय सुझाव अनुसार अघि बढ्ने गरेको जनाउदै उहाले स्वयंसेविकाले समाजमा अमूल्य योगदान पुरयाएको बताउनुभयो ।
कार्यक्रममा नगर प्रवक्ता मनोज पौडेल, नेपाल महिला संघका जिल्ला सचिव तारा मल्ल, स्वास्थ्य शाखा प्रमुख अनिषा सुवेदी, स्वास्थ्य स्वयंसेविका रेशमकुमारी पोख्रेल लगायतले सबैकालागि शिक्षा र रोजगारको ब्यवस्था भएमा लैंगिक हिंसा न्यूनिकरण हुने भन्नुभयो ।
नगरप्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगानाले स्वागत र महिला तथा बालबालिका शाखा प्रमुख सृजना लामिछानेले संचालन गर्नुभएको थियो ।
सोही कार्यक्रममा ३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकालाई नगद, सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा पुतलीबजार नगरपालिका ३ का बिष्णुमाया शर्मा, वडा नं. ४ का रेशमकुमारी पोखरेल र ११ का खीमा अर्याललाई जनही ५÷५ हजार नगद सहित सम्मान गरिएको हो ।
कार्यसम्पादन मूल्यांकन, नियमित बैठक संचालन, बिभिन्न अभियानमा क्रियाशिलता र कार्यालयमा गरिने नियमित रिपोटिङका आधारमा सम्मान गरिएको हो । यसैगरी, नगरपालिकामा भएको रक्तदान कार्यक्रममा कर्मचारी र स्वयंसेविकागरी सहित १५ जनाले रक्तदान गरेका थिए ।
