स्याङ्जा २८ कात्तिक । नवज्योती कृषि सहकारीका पूर्वअध्यक्ष लीलबहादुर रानाले कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास नहुने बताउनुभयो । कृषि मार्फत आर्थिक र सामाजिक क्रान्तिमा अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
पुतलीबजार नगरपालिकामा स्थापित नवज्योती कृषि सहकारी संस्था लिमिटेडको दशौं साधारण सभा तथा चौथो अधिवेशनको शुक्रवार उदघाटन गर्दै उहाले सहकारीका सदस्य सबैले आफना लागि सबैले अर्गानिक उत्पादन गर्नु पर्ने बताउनुभयो । अधिकांश आयातित तरकारीमा मन्द बिष भएको जनाउदै पछिल्लो समय भयानक रोगहरुले आक्रमण गर्न थालेको दावी गर्नुभयो ।
पुतलीबजार नगरपालिका १३ का निर्वाचित जनप्रतिनिधी समेत रहेका रानाले यस्ता अखाद्य बस्तुको नियन्त्रणकालागि सहकारीमा आवद्ध सबैले आफना लागि अर्गानिक तरकारी उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । कृषि मार्फत आत्मनिर्भर बन्न सकिने उहाको भनाई छ ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव अच्यूतप्रसाद पोखरेल, कृषि विकास बैंकका पूर्वप्रवन्धक बिश्वराज मरासीनी लगायतले शुभकामना सहित नवज्योती सहकारीका आर्थिक गतिबिधि राम्रो देखिएको बताउनुभयो । आउदा दिनमा पनि सहकारीका लक्ष्य र उदेश्य बमोजिम अघि बढ्न शेयरधनीहरुलाई आग्रह गर्नुभयो ।
सहकारीका प्रवन्धक भूमिजंग केसी, लेखा तथा सुपरीवेक्षण समिति संयोजक मोहनप्रसाद आचार्यले सहकारीका आर्थिक अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।
सहकारीका कार्यवाहक अध्यक्ष रेवती उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य बाबुराम शर्माले स्वागत र सचिव गुरुप्रसाद ढकालले संचालन गर्नुभएको थियो । विस २०७२ सालमा स्थापित सहकारीले नियमित बचतकर्ता पुतलीबजार नगरपालिका १ का ज्योती राना मगर र बचतकर्ता पुतलीबजार नगरपालिका ११ का तिलकबहादुर केसीलाई नगद सहित सम्मान गरिएको छ ।
सहकारीले पशु तथा आलु खेतीमा बिमाका क्षेत्रमा पनि उल्लेखनीय काम गर्दै आएको जनाएको छ । सहकारीमा ८ सय २७ शेयर सदस्य र ३२ लाख ३९ हजार कुल शेयर पँुजी छ ।
