स्याङ्जा, ९ मंसिर । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाले भौतिक १६ प्रतिशत र वित्तीय ९ प्रतिशत प्रगति हासिल गरेको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो चौमासिक (साउन कात्तिक) अवधिमा खानेपानी कार्यालयले चालु र पुँजीगततर्फ समग्रमा भौतिकतर्फ १६ प्रतिशत र वित्तीयतर्फ ९ प्रतिशत प्रगति हासिल गरेको हो ।
कार्यालयले पहिलो चौमासिकमा चालुतर्फ २० र पुँजीगत शिर्षकमा २० प्रतिशतका दरले प्रगति हासिल गर्ने लक्ष्य लिएको थियो । चालुतर्फको भौतिक प्रगति झण्डै २० र वित्तीय १६ प्रतिशत प्रगति भएकोमा पुँजीगततर्फ भने भौतिकमा करिब १५ र वित्तीयतर्फ ८ दशमल ६० प्रतिशत प्रगति हासिल गरेको हो । चालु र पुँजीगत खर्चको समग्रमा भौतिक १६ र वित्तीय ९ प्रतिशत प्रगति हासिल भएको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा चालु खर्च शिर्षकमा विनियोजित तीन करोड ४२ लाख ५० हजार रुपैयाँको १६ प्रतिशत अर्थात ५४ लाख ८० हजार र पुँजीगत शिर्षकमा विनियोजित ३७ करोड ७७ लाखको ८ दशमलब ६० प्रतिशतले हुने तीन करोड २४ लाख ८२ हजार दुई सय रुपैयाँ खर्च भएको कार्यालयका इन्जिनियर कमल बरालले बताउनुभयो ।
विनियोजित चालु र पुँजीगत शिर्षकको ४१ करोड १९ लाख ५० हजार कुल बजेटको ९ दशमलब २३ प्रतिशतले हुने तीन करोड ८० लाख २२ हजार ९८५ रुपैयाँ खर्च हुँदा समग्रमा १६ प्रतिशत भौतिक प्रगति हासिल भएको इन्जिनियर बरालले जनाउनुभयो । यहि अवधिमा पाइप फिटिङ्ग र टुल्स खरिद कार्यको चार वटा ठेक्का लगाएको समेत उहाले जानकारी दिनभयो ।
पुँजीगत शिर्षकको संघ विशेष अनुदान आयोजनातर्फ एक करोड ५५ लाख, मर्मत सम्भार तथा प्रणाली सुदृढिकरण आयोजनामा ६ करोड २९ लाख, क्रमागत आयोजनालाई १५ करोड २५ लाख, बहुवर्षीय श्रोत सुनिश्चितका लागि १२ करोड ९३ लाख विनियोजन भएको छ । संघको सशर्त अनुदानतर्फ केन्द्रिय खानेपानी आयोजनाका लागि ५० लाख, जलवायु अनुकूलित बृहत खानेपानी आयोजनामा ५० लाख र खानेपानी सेवा विस्तार तथा पुनस्र्थापना कार्यक्रमलाई ७५ लाख गरी कुल ३७ करोड ७७ लाख बजेट विनियोजन भएको कार्यालयले जनाएको छ ।
प्रदेश सरकार बनेसँगै स्याङ्जास्थित डिभिजन कार्यालयले स्याङ्जा र कास्की दुबै जिल्लाका आयोजनाहरु संचालन गर्दै आएको छ । दुबै जिल्लामा चार ठूला समेत गरी क्रमागत योजनातर्फ २८१ संचालनमा छन् भने चालु वर्षदेखि थपिएका नयाँ १२१ गरी कुल ४०२ वटा आयोजनाहरु कार्यान्वयनमा रहेको कार्यालयले जनाएको छ । क्रमागत योजनामध्ये अधिकांश योजनाहरु यसैवर्ष निर्माण सम्पन्न हुने छन् ।
कार्यालयका अनुसार गएको आर्थिक वर्ष २०८१÷०८२ मा ठूला आयोजनामध्ये कास्कीको मादी गाउँपालिका–४ मा संचालित थुमाकोडाँडा खानेपानी आयोजना ७५ प्रतिशत, मादी गाउँपालिकाकै वडा नं.८–९ को बर्दीमजुरे खानेपानी आयोजना ८० प्रतिशत, पोखरा महानगरपालिका–२४ मा संचालित लौरुकखोला लिफ्टिङ्ग खानेपानी आयोजना ९५ प्रतिशत र स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं.–४ स्थित बिर्घा सिमलबगर खानेपानी आयोजना झण्डै ९० प्रतिशत काम सकिएको छ ।
गएकै वर्ष स्याङ्जाको चापाकोट नगरपालिकास्थित छरछरे खानेपानी आयोजना, वालिङ नगरपालिकाको ठूलोपँधेर मुल संरक्षण आयोजना, पाँग्रझ्याल रानाथर नेपालीडाँडा लिफ्टिङ खानेपानी आयोजना, झल्र्याङदी लिफ्टिङ् खानेपानी आयोजना र कालीगण्कडी गाउँपालिकाको खोर्दी खानेपानी आयोजना गरी पाँच आयोजना सकिएको कार्यालयले जनाएको छ ।
त्यसैगरी कास्कीस्थित पोखरा महानगरपालिका–२८ को छहरे देउमाडी लिफ्टिङ् खानेपानी आयोजना र रुपा गाउँपालिका वडा नं.–६ को आपुखोला भार्ले चिसापानी लिफ्टिङ् खानेपानी आयोजना निर्माण सकिएर पूर्णरुपमा संचालनमा आएको सव–इन्जियिनर आशिष कार्कीले बताउनुभयो।
