स्याङ्जा २४ जेठ । इस्लाम धर्मावलम्बीले बकर ईद (ईद–उल–अज्हा) आज मनाउदै छन ।बकर ईद पर्व रमजान अर्थात् इदुलफित्रपछिको दोस्रो ठूलो चाड हो ।
मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गर्छन ।
हिजरी संवत्अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम धार्मिक अगुवाहरू बताउँछन्। नमाज पढिसकेपछि घर(घरमा गई बलि दिने र एकापसमा शुभकामना आदान–प्रदान गर्नुका साथै आफ्ना आफन्तजनसँग बसेर मीठो खानेकुरा खाने प्रचलन रहेको छ।
रमजान पर्वको ७० औं दिनमा मनाउने यो पर्वमा कतिपय हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । पर्व मनाउनका लागि मुसलमान समुदाय आवश्यक सबै किसिमको तयारीमा जुटेका छन् । इस्लाम धर्म अनुसार हरेक वर्ष अर्बी क्यालेन्डर अनुसार १०÷१० दिनपछि सर्दै जान्छ । त्यसले गर्दा ३६ वर्षको अवधिमा सबै चाडपर्व एक फन्को लगाइसक्छ ।
यसैबीच गएको फागुन १५ गते राजपत्रमा प्रकाशित सूचना अनुसार बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेकोमा मुस्लिम आयोगको पत्र अनुसार आज अर्थात् सार्वजनिक बिदाका दिन नै बकर ईद परेको गृह मन्त्रालयले जनाएको छ ।