स्याङ्जा १० असोज । भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलनका क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो क्षति पुगेको भन्दै स्याङ्जाका समाजसेवी ७२ बर्षिय हरिनारायण शर्माले सरकारको कोषमा जम्मा हुनेगरि १ लाख ११ हजार १११ रुपैंया नगद प्रदान गर्नुभएको छ ।
पुतलीबजार नगरपालिका ३ बरसारे निवासी एक कृषक शर्माले शुक्रवार प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको कक्षमा पुगेर सो रकम हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण गर्दै जेन—जी को २३ गतेको शान्तिपूर्ण आन्दोलनमा भएको नरसंहारमा ज्यान गुमाउने युवाप्रति श्रद्धान्जली सहति साथै २४ गते भएको आन्दोलनमा अराजकवादीको घुसपैठ, तोडफोड र आगजनीका कारण भएको अपुरणीय क्षतिप्रति दुख ब्यक्त गर्नुभयो ।
समाजसेवामा समर्पित शर्माले यसअघि पनि कोरोनाका समय, बाढी पहिरो, आगलागीका समयमा पनि पटक पटक रकम उपलब्ध गराउदै आउनु भएको छ ।
प्रजिअ अर्यालले तत्काल सो रकम राष्ट्रिय बाणिज्य बैंक, सिंहदरवार काठमाण्डौंको भौतिक संरचना पुननिर्माण कोषमा आज नै जम्मागरि दिन गराउन प्रशासनका कर्मचारीलाई निर्देशन दिनुभयो ।
क्षतिपुगेका भौतिक संरचनाको पुननिर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि उपलब्ध गराउनेगरी नेपाल सरकारले अनुरोध गरेको छ । सरकारले प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा बिदेशी नागरिक, गैर आवासिय नेपाली समुदाय, मित्र राष्ट्रहरु, विकास साझेदार तथा अन्र्तराष्ट्रिय संघ संस्थासंग पनि राष्ट्र पुननिर्माणका लागि आब्हान गरेको छ ।