स्याङ्जा ९ मंसिर । गुरुङ समुदायको रोधीं संस्कृतिमा आधारित गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी’ आइतवार काठमाण्डौंमा सार्वजनिक गरिएको छ । गायिका दुर्गा गुरुङले गीत आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको छ ।
तमु ल्होछार नजिकिँदै गर्दा काठमाडौंमा आयोजित कार्यक्रममा गायिका दुर्गा गुरुङ र गायक नरेश गुरुङले नेपाली गीत–संगीतलाई बजारमा ल्याउनु भएको हो ।
सामूहिक स्वरमा भिमकला गुरुङ, टिका गुरुङ, शिशिर गुरुङ र मनाङ्ग गुरुङले साथ दिनु भएको छ । गीत केशबहादुर गुरुङले लेख्नु भएको हो । म्युजिक भिडियोमा आनन्द गुरुङ र दिपशिखा गुरुङको मुख्य अभिनय छ । गीतको संगीत संयोजन तेजेन्द्र गुरुङ र निर्देशन उमेश गुरुङले गर्नुभएको छ ।
गण्डकी प्रदेश तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका प्रतिनिधि तथा वालिङ नगरपालिका–१ का वडा अध्यक्ष पदमराज गुरुङको प्रमुख आतिथ्यता तथा तमु कलाकार संघ नेपालका संस्थापक अध्यक्ष धर्मराज गुरुङ, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद उपत्यका प्रमुख सागर गुरुङ, तमु कलाकार संघ नेपालका सल्लाहकार प्रितम गुरुङ, तथा वरिष्ठ गायिका एवं संघकी पूर्व अध्यक्ष शर्मिला गुरुङ लगायतको उपस्थितिमा सार्वजनिकरण गरिएको हो ।
‘ङिल रोधिंरी’ ले गुरुङ संस्कृतिको संरक्षण गर्दै डिजिटल प्लेटफर्ममार्फत नेपाली गीत–संगीतलाई नेपाल लगायत विश्वभर चिनाउन सकिने अपेक्षा लिईएको छ ।
