स्याङ्जा २६ चैत । अर्जुनचौपारी गाउँपालिकामा रहेको ‘ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था लि।’ गण्डकी प्रदेशमै उत्कृष्ट सहकारी संस्थाको रुपमा घोषणा भएको छ ।
६८ औं राष्ट्रिय सहकारी दिवस अवसरमा राष्ट्रिय सहकारी महासघंले साना किसान कृषि सहकारीमार्फत कृषि, पशुपन्छी क्षेत्र एवं सूक्ष्म वित्तीय क्षेत्रको ग्रामीण भेगमा रहेका सदस्य किसानको जीवन रुपान्तरण र आर्थिक अवस्था सुधारमा महत्वपूर्ण योगदान पुर्याएकोमा सहकारीलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०८१ प्रदान गरिएको हो ।
यसबाट आफूहरुलाई सहकारी अभियानलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्न हौसला मिलेको संस्थाका सल्लाहकार चिनुमाया गुरुङले बताउनुभयो ।
संस्थालाई यहाँ ल्याइपुर्याउन सहयोग गरेकामा संस्थाका शेयर सदस्य, संचालक, कर्मचारीलगायत सबैजनालाई संस्थाका प्रबन्धक शालिग्राम काफ्लेले धन्यवाद दिनु भएको छ ।
यस्तै, हरिनास २ स्थित चिसापानी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष प्रकाश पौडेलले उक्त सहकारी उत्कृष्ट भएकामा खुसी व्यक्त गर्दै हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।