स्याङ्जा १० मंसिर । वालिङ नगरपािलका–८ काफ्लडाँडास्थित गौशालाको ब्यवस्थापकीय संचालनका लागि वालिङ्मा बृहत सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।
गौैशालामा दिनानुदिन गाई बढ्दै जाँदा नियमित आम्दानीको श्रोत अभाव र दानदाताको संख्यामा कमि भएपछि गौशाला चलाउनै मुस्किल हुँदैै गएको छ । गौशाला चलाउनै मुस्किल भएपछि ईन्द्रेणी बृहत सांस्कृतिक कार्यक्रम मार्फत रकम संकलन गरिने भएको हो ।
वालिङ नगरपालिकाले छाडा चौपाया नियन्त्रण गर्न २०७६ सालबाट संचालन गरेको गौशालामा हाल झण्डै १७५ गाई छन् । ५० वटा बाच्छाबाच्छी झण्डै ४० वटा बुढा भएका गाईगोरु छन् भने गौशलामा ५० वटा थारो र ब्याउनेसँगै २० वटा गाई दुहुनो गाई छन् । सडक छाडा चौपाया मुक्त त भएका छन् तर गौशाला चलाउनै मुस्किल बन्दै गएको छ ।
छाडा छोडिएका चौपाया नियन्त्रणमा वालिङसँगै जिल्लाका अन्य पालिकाहरुले ध्यान दिएपनि गौशाला चलाउन आवश्यक सहयोग नगरेको श्रीधुनी शिवालय फुलबारी गुठी गौशाला आश्रमका अध्यक्ष कमल सुबेदीले सुनाउनुभयो । गौशाला संचालनार्थ मासिक झण्डै एक लाख ५० हजार नगद चाहिन्छ, स्थायी श्रोतको अभावमा गौशाला चलाउन मुस्किल बन्दै गएको अध्यक्ष सुबेदीले बताउनुभयो ।
२०८० सालमा गरेको महायज्ञबाट संकलित ८० लाखबाट बनेको अक्षयकोषको सहारामा गौशाला धानिएको छ । गौशाला हेरचाह गर्ने जनशक्तिलाई मासिक ६० हजार रुपैयाँ खर्च हुँदै आएको छ भने गाईलाई दैनिक चाहिने घाँस, दाना, पानी, परालको व्यवस्थापनमा मासिक करिब एक लाख खर्च हुँदै आएको छ
गौशालामा उत्पादित दूध, मल बिक्री, बैंकबाट प्राप्त हुने ब्याज र दाताले दिएको थोरै दाना, परालबाट बल्लतल्ल गौशाला चल्दै आएको छ । नियमित श्रोतको अभावमा गौशला चलाउन समस्या बन्दै गएको गुठी आश्रम संचालक समितिले जनाएको छ । दिगो रुपमा गौशाला संचालन गर्न अक्षयकोषको बृद्धि र नियमति आम्दानीको श्रोत पहिचान गर्न आवश्यक रहेको समितिको बुझाई छ ।
गौशाला परिसरको झण्डै चार सय वर्ष पुरानो मन्दिर संरक्षण, गौशालालाई आधुनिक भौतिक पूर्वाधार निर्माण गर्न सके काफ्लडाँडा धार्मिक पर्यटकीय क्षेत्र बनाउन सकिनेमा समितिका सचिव श्याम शर्माले विश्वस्त देखिन्छन् । आम्दानीको नियमित श्रोत बनाउन काफ्लडाँडाको ऐतिहासिक तथा धार्मिक सम्भाबनालाई पर्यटकीय क्षेत्रसँग जोड्नको विकल्प नरहेको शर्माले सुझाउनुभयो ।
गौशाला संचालनमा सहज होस भन्दै स्थानीयले सक्दो सहयोग गर्दै आएका छन् । हामीसँग भएको घाँस, परालहरु र थोरै–धेरै नगद सहयोग गरेको स्थानीयले जनाए । गौशाला चलाउन समस्या छ भने सुनेरै आफूहरुले कोदो, गहुँको नल, धानको पराल, मकैको डाट लगाएतका घरेलु वस्तुहरु सहयोग गरेको स्थानीय कृषकहरु बताउँछन् । स्थानीयबाट स–सानै भएपनि निरन्तर सहयोग प्राप्त भएको गौशाला सचिव शर्माले जानकारी दिनुभयो ।
गौशाला संचालन गर्न समितिले कहिले महायज्ञको सहारा लिएको छ भने कहिले राष्ट्रिय कलाकारको जमघट गराएर आर्थिक श्रोतको जोहो गर्दै आएको छ । गौशाला संचालानार्थ मंसिर १२ गते ‘ईन्द्रणी बृहत साँस्कृतिक कार्यक्रम–२०८२’ को आयोजना गरेर समितिले आर्थिक श्रोत जुटाउने माध्यमको खोजी गरेको छ ।
