स्याङ्जा १४ साउन । मध्य साउन लाग्दा स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकिएको छ । धान रोपाई हुने क्षेत्रफलमध्ये ८३ प्रतिशतमा रोपाईं सकिएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले जानकारी दिनुभयो ।
स्याङ्जाका उत्तरी भेगका फेँदिखोला र अर्जुनचौपारी गाउँपालिकामा ९८ प्रतिशत, आँधीखोला गाउँपालिकामा ९७ प्रतिशत, पुतलीबजार नगरपालिकामा ९५, भीरकोट नगरपालिका र हरिनास गाउँपालिकामा ८५ प्रतिशत, वालिङ, गल्याङ नगरपालिका र विरुवा गाउँपालिकामा ८० प्रतिशत, कालीगण्डकी गाँउपालिकमा ७५ प्रतिशत र चापाकोट नगरपालिकामा ७० प्रतिशत रोपाइँ सकिएको प्रमुख हमालले जानकारी दिनुभयो ।
मुल फुट्ने गरी वर्षा नभएका कारण धान रोपाईँ गर्नेहरु प्रभावित भएका छन् । ८ सय मिटर भन्दा बढी उचाई भएका क्षेत्रफलहरुमा अब रोपाइँ गर्दा उत्पादन कम हुँने तर तल्लो क्षेत्रमा साउनको १८ गतेसम्म पनि रोपाइँ गर्दा उत्पादनमा कमी नआउने प्रमुख हमालले बताउनुभयो ।
विशेषगरी रामधान, साबित्री, सुनौलो सुगन्ध, सामा मन्सुली सव १ र हाईब्रिडतर्फ युएस ३१२, च्याम्पियन लगायतका धानहरु किसानले लगाएका छन् ।
स्याङ्जाका चापाकोट टार, जिमूहा, पकान, डौंवा, लामागे, ठूलाडिही, साँखर, चिन्नेबास सहित आँधीखोला, ज्याग्दीखोला र दरौंखोला आसपासका क्षेत्र धानको पकेट क्षेत्र हुन् ।स्याङ्जामा १ हजार ४ सय हेक्टरमा बर्षे धान र ७ सय हेक्टरमा हिउदे (चैते) धान लगाउने गरिन्छ ।