स्याङ्जा ४ मंसिर । गल्याङ नगरपालिका — ७ र ८ अर्थात चिउरीभीर र पेलाकोटलाई जोड्नेगरि आँधीखोलामाथि बनाईएकोे चिउरीको झोलुंगे पुल अहिले पर्यटकीय गन्तब्य बनेको छ ।
जिल्लाकै अग्लो र लामो झोलुंगे पुलमा दिनहुँ आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गर्दछ । एक सय ९० मीटिरको उचाईमा रहेको झोलुंगे पुल ३ सय ६८ मीटर लम्बाईको छ ।
हर्दै डरलाग्दो चिउरीको तारे भीर । यसो तल हेर्दा पनि मनै झसंङगै भएर फुलेर आउछ । धेरै बर्ष यहाँका स्थानीयबासीले वारपारका लागि निकै दुःख र कष्ट भोगे ।
सहज जीवनयापनका लागि यहाँ एउटा झोलुंगे पुलको योजना बन्यो । निर्माण कार्य पनि सम्पन्न भयो । अहिले सोही पुल सबैको मन, मस्तिष्कमा बस्न सफल भएको छ । पर्यटकीय गन्तब्य बनेको छ ।
पुलको अवलोकन तथा दृश्यावलोकनकालागि पारिवारिक, साथिहरु, सामूहिक तथा जोडीहरुको पनि उत्तिकै भीड लाग्ने गरेको छ। पुल तरेर वारपार गर्ने, पुलमा पुगेर फोटो खिच्ने, भिडियोे र टिकटक बनाउने पनि उत्तीकै हुने गर्दछन् । बालबालिका, युवादेखि पाको उमेरसम्ममा मानिसहरु खुशी हुदै रमाउने गर्दछन ्।
सिद्धार्थ राजमार्ग छेवैमा रहेको सो पुल । वरपरका हरियाली प्रकृति। जसले जो कोहीलाई पनि लोभ्याउने गर्दछ। नजिकै रहेका बस्ती, खेतीयोग्य जमिन, नागबेली आकारमा बग्दै आएकी आँधीखोला र पेलाकोटमा रहेका केदारनाथ मन्दिरले झनै सबैको मन जितेको छ ।
चिउरी पुलको चर्चा परिचर्चा सामाजिक संजालमा धेरै देखियो। हेरियो पनि। यो बाटो ओहोर दोहोर धेरै पटक भयो । तर, आजसम्म यहाँ आउने अनु्कुल मिलेको थिएन । हेर्दा सुन्दा भन्दा प्रत्यक्ष यही आएर पुल तर्दा र अवलोकन गर्दा छुट्टै आनन्द मिल्दो रहेछ भन्नुहुन्छ पुल तर्दै गरेका लोकगायक तथा सर्जक पुरुषोत्तम न्यौपाने ।
पुल बन्नु भन्दा वारपार गर्नकालागि निकै कठिन थियो । घुमेर जानु पर्ने वाध्यता थियो । पुल निर्माण भएसंगै स्थानीय बासिन्दाका जीवनयापनमा पनि सहज बनेको छ । अर्कोतर्फ, पर्यटकीय थलोको रुपमा परिचित हुदै गएको छ । यहाँ आन्तरिक तथा भारतीय पर्यटकको समेत भीड बढ्दै गएको छ । स्याङ्जा सदरमुकामबाट ४० किलोमिटरको दुरीमा पर्दछ । सो पुलमा दैनिक २ देखि ३ सय जति आउने गरेको स्थानीयबासी गीता पाठकको भनाई छ ।
राजमार्ग छेवैमा भएकाले पनि यहाँ आउन सहज छ । पुलकै आडमा खाजा खानका लागि होटल तथा रेष्टुरेन्ट पनि भएकाले यस ठाउँमा घुम्न आउनेको संख्या बढेको पाठकले भन्नुभयो ।
शुक्रवार र शनिवार यहाँ मानिसहरुको भीड थेगिसक्नु हुदैन्। कामकाजी बाबा, आमासंगै छोराछोरीलाई प्राकृतिक सौन्दर्यतामा रम्न र रमाउनका लागि आउने गर्दछन ्। भारतीय नागरिकको पनि उल्ल्ेख्य आउने गरेका छन ्। भारतदेखि पोखरा घुम्न तथा मुक्तिनाथको दर्शनका लागि आउनेको भारतीय नागरिक पनि पुल देखेपछि सवारी साधन रोकेर पुलमा गएर मनोरञ्जन लिने गर्दछन्। यसरी आउनेको संख्या पनि ह्वात्तै बढेको छ ।
झोलुङ्गे पुलमा आउने पर्यटकको संख्या बढेपछि राजमार्ग छेवैमा पार्किङ र पुलसम्म जान आउन रेलिङ सहितको पदमार्ग निर्माण गरिएको गल्याङ नगर गुरुप्रसाद भट्टराईले बताउनुभयो ।
गल्याङ ७ पेलाकोटमा रहेको केदारनाथ मन्दिरमा आउनका लागि पनि पुलले धेरै सजिलो बनाएको छ। मन्दिरमा पुग्न यसअघि २ घण्टा लाग्ने गरेकोमा अहिले आधा घण्टामै पुग्न सकिने केदारनाथ मन्दिर धार्मिक तथा पर्यटन विकास समितिका सचिव टिकाराम पाठकले जानकारी दिनुभयो ।
करिब ४ बर्षअघि विसं २०७८ असारमा निर्माण सकिएको सो पुल एक करोड ८३ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।
