स्याङ्जा २ साउन । भीरकोट नगरपालिका ४ स्थित छाङ्छाङ्दी मन्दिरमा यसबर्ष पनि साउन महिनाभर दैनिक साँझ महाआरती गरिने भएको छ ।
प्रशिद्ध एवं शक्तिशाली धार्मिक स्थल छाङ्छाङ्दी छायाँक्षेत्रस्थित शिवशक्तिपीठमा परम्परादेखि नै भक्तजनहरु दर्शनका लागि टाढा टाढादेखि आउने गर्दछन् । यहाँ गतवर्षको साउन महिनामा दैनिक साँझ महाआरती गरिएको थियो ।
यसैगरी यो वर्षको साउन महिनामा पनि दैनिक साँझ महाआरती बालिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर श्रेष्ठले जानकारी दिनुभयो । हिन्दुधर्मावलम्बीका लागि साउन महिना पवित्र र महत्वपूर्ण मानिन्छ ।
साउन महिनामा भगवान शिवको आराधना गरिन्छ र भगवानको कृपा प्राप्त गर्न व्रत एवम् उपवास बस्ने परम्परा छ । हरेक वर्ष साउन महिनाको १ गते देशभरका शिवालयहरुमा दर्शनार्थीहरुको आवागमन बाक्लो हुने गर्दछ ।
छाङ्छाङ्दी छायाँक्षेत्रको धार्मिक, सांस्कृतिक एवम् पौराणिक महत्व रहेको छ । यहाँ सतीदेवीको शेष अङ्ग पतन भएको र शिवशक्ति पीठकारुपमा रहेको श्री स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ । साउन महिनाभर दैनिक साँझ हुने महाआरती भक्तजनहरुले पनि आफ्नो इच्छा अनुसार बाल्न सकिने समेत अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभएको छ ।
मन्दिर व्यवस्थापन समितिको निर्णय अनुसार केही शुल्क तिरेर महाआरती बाल्न पाइने उहाँको भनाई छ । उहाँका अनुसार मन्दिर व्यवस्थापन समितिले बालेको महाआरतीमा सहभागी भएर भक्तिभाव प्रकट गर्न सकिने छ भने इच्छा हुनेले आफैले बाल्न पाइने छ । गतवर्ष निकै उत्साहकासाथ श्रद्धालु भक्तजनहरुले महाआरतीमा सहभागिता जनाएका थिए ।
भक्तजनहरुले भगवानको नाममा र आ–आफ्ना पित्रिको सम्झनामा पवित्र शिव मन्दिरमा महाआरती बाल्न पाइने अवसरलाई धेरैजनाले उपयोग गरेका थिए । श्रद्धालु भक्तजनहरुको चाहना र भक्तिभावलाई मध्येनजर गर्दै अहिलेको साउन महिनामा पनि दैनिक साँझको समयमा महाआरती बालिने अध्यक्ष श्रेष्ठको भनाई छ