स्याङ्जा २३ मंसिर । ‘स्वास्थ्यको लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने नाराका साथ छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ गते हुने भएको छ ।
सातसय कोल्मा बहाकोट सम्पर्क मञ्च स्याङ्जाको आयोजनामा पुतलीबजार नगरपालिका ९ स्थित कोल्मामा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक समितिले सो का बारेमा जानकारी गराएको हो ।
पुतलीबजार नगरपालिका ९ कोल्मा स्थित बराहचौरमा हुने प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । ग्रामीण क्षेत्रमै राष्ट्रिय स्तरको प्रतियोगिता संचालनगरेर खेलकुद पर्यटनलाई नयाँ ऊर्जा दिने लक्ष्य सहित प्रतियोगिता गरिदै आएको मञ्चका अध्यक्ष मेजर सुवेदार दूतप्रसाद गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगितामा खुला पुरुष, महिला २५ किमि दौड, खुला महिला १० किमी दौड, २१ बर्ष मुनि पुरुष १० किमि दौड, बिद्यार्थी छात्र ५ किमी दौड र बिद्यार्थी छात्रा ५ किमी दौड र रन फर फन लुंगी ड्रेसमा ३० वर्ष माथिका महिला दौड गरी ६ बिधामा प्रतियोगिता हुने भएको मञ्चका संस्थापक अध्यक्ष जितबहादुर गुरुङले बताउनुभयो ।
२५ किमि खुलातर्फ पहिलो हुनेले ५० हजार, दोश्रोले ४० हजार र तेस्रोले ३० हजार नगद पुरस्कार सहित मेडल, शिल्ड सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । १० किमि महिला तथा २१ वर्षमुनि पुरुष तर्फ प्रथमले २० हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार पाउनेछन् ।
५ किमि विद्यार्थी समूहमा छात्र तथा छात्रा दुवैतर्फ प्रथमले ८, द्धितीयले ५ र तृतीयले ३ हजार नगद प्राप्त गर्ने छन् । १० औं स्थानसम्म आउने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै, रन फर फन लुंगितर्फ प्रथमले ५, द्धितीयले ३ र तृतीयले २ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यसैगरी, २५ किमि खुलातर्फ सातसय कोल्मा क्षेत्र भित्रका एकजनालाई ५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र साथै १० औं स्थानसम्म आउने खेलाडीहरुलाई नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
सबै प्रतियोगिताको सुुरु कोल्मा बराहचौर खेलमैदानबाट सुरु हुनेछ । खुला २५ किमिको सतीडाँडा, काउले, डाँडास्वाँरा, नाम्चे, काल्खु हुँदै तनहुँको खल्लुबोट, राइपुर, बिसौना, सिम्लेस्वाँरा, ओडारे, खुदी, मडकिना भन्ज्याङ हुँदै पुनः बराहचौर फर्कनेगरि रुट तय गरिएको छ ।
१० किमि दौड कोल्मा बराहचौरबाट सतीडाँडा, काउले, ज्यामीरे, चिरुवा, भैंसीगौंडा होमस्टे, राङ्भाङ मैदान हुँदै पुनः बराहचौरमै फर्कनेछन । विद्यार्थी समूहका लागि ५ किमि दौड कोल्मा बराहचौरबाट पोखरीछाप, थुम्कीडाँडा, बाँस्पारी रामचौतारा हुँदै पुनः बराहचौर फर्कने छन ।
प्रतियोगितामा ४ सयदेखि ५ सय खेलाडी सहभागि हुने आयोजकको अपेक्षा छ । प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम पनि हुनेछ । प्रतियोगिताका लागि झण्डै १२ लाख ८१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको महासचिव जीवन पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रम संचालनका लागी कोल्मा बहाकोट समाज यूके, कोल्मा बहाकोट समाज यूके आमा समूह, गण्डकी प्रदेश सरकार खेलकूद परिषद, पुतलीबजार नगरपालिका र शुक्लागण्डकी नगरपालिका, सात सय कोल्मा बहाकोट सम्पर्क मञ्च विदेश बिभाग, स्याङ्जा सहयोग समाज, वडा कार्यालय, युवा क्लब, आमा समूह, विभिन्न संघ–संस्थाको सहयोग रहने जनाइएको छ ।
सात सय कोल्मा बाहकोट सम्पर्क मञ्चको स्थापनागरि सोही मञ्च मार्फत खेलकूद र पर्यटनको माध्यमबाट ग्रामिण क्षेत्रको विकास, कला संस्कृतिको पहिचान, खेलकूद तथा पर्यटन मार्फत गाउँलाई विश्वभर चिनाउने सहित ‘गाउँबाट बिदेशीएकालाई जोड्ने’ अभियान सुरु गरिएको हो ।
कोल्मा बराहचौरबाट हङकङ, बेलायत, जापान, जर्मन, अमेरिका, पोखरा, काठमाण्डौं लगायत देश तथा बिदेशमा गएकाहरुले गाँउको विकासमा निम्ति साझा संकल्पगरी २०७५ सालदेखि क्रसकन्ट्री प्रतियोगिता संचालन हुदै आएको हो । पहिलो पटक बिदेशी पनि दौड प्रतियोगितामा सहभागी भएका थिए ।
