स्याङ्जा १९ जेठ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज (सोमबार) देखि स्याङ्जाको चापाकोट नगरपालिका – १० सुन्तलीटारमा हुने भएको छ ।
जिल्ला खेलकुद विकास समिति स्याङ्जाको आयोजनामा जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत र १८ वर्ष उमेर ननाघेका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा छात्र÷छात्रा दुवैतर्फ भलिबल, कबड्डी, दौड, रिले दौड, हाइजम्प, लङजम्प, ट्रिपल जम्प, ज्याभलिङ थ्रो, सटफुट, सितोरिया कराँते, तेक्वान्दो र उसुलगायतका खेलहरु हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रकाश रेग्मीले जानकारी दिनुभयो । जिल्ला स्तरीय प्रतियोगिता जेठ १९ गतेदेखि २१ गतेसम्म हुनेछ ।
स्याङ्जाका ११ पालिकामा रहेको पालिका स्तरीय प्रतियोगिता सम्पन्न गरेका १० पालिकाको सहभागिता रहने र प्रतियोगितामा करिब पाँच सय विद्यार्थीको सहभागिता रहने अनुमान गरिएको छ ।
तीन दिनसम्म चल्ने प्रतियोगितामा प्रथम हुने खेलाडी यहि जेठ २२ गतेबाट गोरखामा हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् ।