स्याङ्जा २४ बैशाख । चापाकोट नगरपालिका पूर्ण खोप पालिका” घोषित भएको छ । नगरभित्रका १५ महिनासम्मका ३ सय १९ बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका सबै खोप प्राप्त गरेको पुष्टिपछि घोषणा गरिएको हो।
नगरपालिकाको वडा नं १ देखि १० सम्मका बालबालिकाहरूको तथ्याङ्क संकलन, अभिभावकहरूको सचेतना अभिवृद्धि, महिला स्वास्थ्य स्वयंसेविकाहरूको अथक प्रयास र स्थानीय स्वास्थ्य संस्थाको सक्रियताले बालबालिकालाई खोप लगाइएको हो ।
बोल्दै नगर उपप्रमुख ईशा रानाले नगरबासी सबैका साथ र सहयोग र नगरपालिका सहित स्वास्थ्य कार्यालयको उचित ब्यवस्थापनले पूर्ण खोप सुनिश्चितता सम्भव भएको बताउनुभयो । सबै बालबालिकाले समयमानुसारका खोप लगाउने वातावरण मिलाउन सरोकारवाला सबैले चासो दिनुपर्ने बताउदै बर्षेनी यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेमा जोड दिनुभयो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय स्याङ्जा प्रमुख केशव प्रसाद चापागाईं चापाकोट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरे स्वास्थ्य शाखा प्रमुख , महिला स्वास्थ्य स्वयंसेविकाहरू, अभिभावक, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो। स्वास्थ्य शाखा प्रमुख नवराज पौडेलले सबै वडामा शतप्रतिशत खोप सुनिश्चित गर्न गरिएको योजना, सर्वेक्षण र पुनः अनुगमन प्रक्रियाबारे जानकारी दिनुभयो।
घोषणा समारोहमा नगर उप–प्रमुख इशा रानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ्य शाखाका बिन्दु कोइराला र सन्चालन सुवास देवकोटाले गर्नुभएको थियो।