स्याङ्जा १४ असार । चापाकोट नगरपालिकाको १७ औं नगरसभा सम्पन्न भएको छ । सभाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ ।
नगरसभामा नगर प्रमुख देबबहादुर खाँण ईश्वरले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख खाँणले सडक, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सिञ्चाई लगायत स्वास्थ्य बीमा कार्यक्रम, सर्पदंश उपचार केन्द्रको प्रभावकारी सञ्चालन, लघुउद्यम कार्यक्रम अन्तर्गत महिलाहरुलाई सीपयुक्त तालिम प्रदान गरी आयआर्जनसित जोड्ने, भौतिक पूर्वाधारतर्फ पालिका र वडा कार्यालयहरुलाई जोड्ने सडकहरुको स्तरोन्नति गर्ने, चापाकोट ८ मा निर्माणाधिन अवस्थामा रहेको चिस्यान केन्द्र निर्माण गर्ने, कृषि क्याम्पसलाई बजेट विनियोजन गरी निर्माण कार्य थालनी गर्ने लगायतका नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नगर उपप्रमुख ईशा रानाले आगामी आर्थिक बर्षका लागि ७५ करोड १ लाख ७२ हजार ८२० बजेट प्रस्तुत गर्नुभएको छ । प्रस्तुत बजेटको चालुतर्फ ५९ करोड १ लाख ७२ हजार ८२० र पूँजीगततर्फ १६ करोड रहेको छ ।
नगरसभा नगर प्रमुख देबबहादुर खाँणको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन प्रशासन प्रमुख उदय देवकोटाले र स्वागत प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले गर्नुभएको थियो ।
