स्याङ्जा २६ कात्तिक । चापाकोट नगरपालिका भित्रका सरकारी तथा निजी विद्यालयका क्यान्टिन, किराना पसल, होटल र रेस्टुरेन्टका अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा गङ्गालाल माध्यमिक विद्यालयको क्यान्टिन, किसान बहुप्राविधिक शिक्षालय, जनज्योति माध्यमिक विद्यालय, भूपू सैनिक कालीगण्डकी बोर्डिङ स्कुल, सिद्धबाबा बोर्डिङ स्कुल, बुद्ध सामुदायिक बोर्डिङ स्कुल, खनाल स्टोर्स, चापाकोट एग्रोभेट लगायतका स्थानमा निरीक्षण गरिएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका अधिकृत सोनन्द मल्लका अनुसार अनुगमनका क्रममा विभिन्न अनियमितता भेटिएको छ ।
उहाँका अनुसार, रङ्ग प्रयोग गरी तयार पारिएका खाजा, सरसफाइबिना सञ्चालन भएका भान्छा कोठा, एप्रोन नलगाई काम गर्ने कर्मचारी, डस्टबिनको प्रयोग नगर्ने, प्लास्टिकका सामग्रीमा खाजा दिने, र पुस्तक वा पत्रिकाले छोपेर खाजा राख्ने जस्ता गतिविधि प्रत्यक्ष भेटिएको छ ।
बजारमा बिक्रीका लागि राखिएका ट्याग विहीन चाउमिन, रारा ब्रान्डको धुलो खुर्सानी, फिस मसला, मिनरल वाटर, टोकला चियापत्ती लगायतका सामग्रीको नमूना प्रयोगशाला परीक्षणका लागि संकलन गरिएको छ ।
किसान बहुप्राविधिक शिक्षालयका प्रमुख शिव पाण्डे ले नियमित अनुगमन भएमा सहरका नागरिक अझै सचेत र सुरक्षित हुने विश्वास व्यक्त गरे ।
यस्तै, चापाकोट उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मणिप्रसाद खनाल ले यस्तो अनुगमन केवल चापाकोटमै सीमित नराखी जिल्लाभर निरन्तर रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।
