स्याङ्जा ३ मंसिर । आईसीसी यु १९ विश्वकप खेल्ने स्याङ्जाका ३ जना महिला क्रिकेट खेलाडीलाई अर्जुनचौपारी गाउँपालिकाले सम्मान गर्ने भएको छ ।
क्रिकेटमा इतिहास रचेको जनाउदै क्रिकेट खेलाडीलाई सम्मान सहित पुरस्कृत गरिने गाउँपालिका प्रमुख प्रकाश तिवारीले जानकारी दिनुभयो ।
खेल र खेलाडीको मनोवल बढाउने पक्षमा रहेको जनाउदै अध्यक्ष तिवारीले यहि मङसिर ६, ७ र ८ गते आयोजित दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा शैक्षिक महोत्सवको समापनका अवसरमा ज्योत्सनिका मरासिनी, सिमाना केसी र कुसुम गोदारलाई जनही १५ हजार रुपैया सहित सम्मान र पुरस्कृत गरिने जानकारी दिनुभयो ।
युएईमा भएको विश्वकप एसिया छनोटमा नेपाली टोलीले घरेलु टोलीलाई पराजित गर्दै उपाधि जितेर आईसीसी महिला यु(१९ टी – २० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गरेको थियो ।
सिनियर महिला क्रिकेट टोलीले विश्वकपमा स्थान पक्का गर्न नसकेको अवस्थामा यु(१९ टोलीले विश्वकपमा स्थान पक्का गरेको र महिला क्रिकेटका लागि स्याङ्जाले इतिहास रचेको भन्दै जिल्ला क्रिकेट सङ्घ स्याङ्जाका अध्यक्ष दिवाकर थापाले खुशी ब्यक्त गर्नुभयो ।