स्याङ्जा ११ बैशाख । देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू २३ दिनदेखि काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनमा रहेका बेला स्याङ्जाका २ गाउँपालिकाले भने सूचना प्रकाशित गर्दै बिद्यालयका गतिबिधी संचालन गर्न आग्रह गरेका छन ।
स्याङ्जाका सामुदायिक बिद्यालयको पठनपाठन बन्द रहेको अवस्थामा २ पालिकाले भने बिद्यालय खुलाई पठनपाठन लगायत शैक्षिक क्रियाकलाप संचालन गर्न आग्रह गरिएको हो ।
स्याङ्जाको दक्षिणपूर्वी क्षेत्रमा पर्ने बिरुवा गाउँपालिका र हरिनास गाउँपालिकाले छुट्टाछुट्टै सूचना प्रकाशित गरेर पठनपाठन गर्न गराउन सूचित गरेका हुन ।
बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरद्धारा बैशाख ९ गते हस्ताक्षरित सूचनामा लामो समयदेखि चलेको शैक्षिक आन्दोलनले शैक्षिक सत्र २०८२ सालको भर्ना प्रभावित भएको र अभिभावक तथा सरोकारवालाका गुनासालाई ध्यान दिदै सोही दिनदेखि पालिका अन्र्तगत रहेका सबै सामुदायिक बिद्यालय संचालन गर्न भनि उल्लेख गरिएको छ ।

यसैगरी, हरिनास गाउँपालिकाले पनि पालिका अन्र्तगतका सबै सामुदायिक बिद्यालयको खोली पठनपाठन सुचारु गर्न सूचना मार्फत सूचित गरेको छ ।
गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरद्धारा बैशाख १० गते हस्ताक्षरित सो सूचनामा शिक्षक, कर्मचारी तथा बालविकास शिक्षकहरूको विद्यालयमा पढाइ भएको दिनदेखिको मात्रै तलब निकास गर्ने जनाउनु भएको छ ।
शिक्षा ऐन जारी गरिनुपर्ने माग सहित नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षकहरु गत चैत २० गतेदेखि आन्दोलनरत छन्। जसका कारण कक्षा १२ को परीक्षा समेत १० दिन पर सरेको छ ।
