स्याङ्जा ९ मंसिर । आँधीखोला गाउँपालिकाका माध्यमिक शिक्षामा अध्ययरत बालबालिकालाई च्याउ खेती सम्बन्धी प्रशिक्षण दिइएको छ ।
आँधीखोला गाउँपालिका र ईको हिमालको व्यवस्थापनमा आँधीखोला ६ फापरथुम स्थित शारदामन्दिर माविको आयोजनामा एक दिने च्याउ खेती सम्बन्धी कार्यशाला सम्पन्न भएको हो ।
कार्यशालाको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले विद्यार्थीलाई व्यवहारिक ज्ञान सबैभन्दा महत्त्वपूर्ण रहेको बताउनुभयो । व्यवहारिक ज्ञानले विद्यार्थीलाई जीउन सिकाउने जनाउदैै अबको शिक्षा प्रयोगात्मक हुनुपर्नेमा उहाले जोड दिनुभयो । अबको शिक्षा व्यवहारिक ज्ञान सहितको सीपमूलक शिक्षामा लगाव बढाउनु पर्ने जनाउनुभयो ।
सामाजिक विकास समिति सभापति एवं वडा २ का अध्यक्ष कमलप्रसाद पौडेल, वडा ६ का अध्यक्ष नवीन ढकाल, कृषि शाखा प्राविधिक प्रमुख विवेक आचार्य, इको हिमालका गौरव राई लगायतले च्याउको उपयोगिताका बारेमा जानकारी गराउनुभएको थियो । इको हिमालका राईले कन्या च्याउको बारेमा विभिन्न सैद्धान्तिक एवं प्रयोगात्मक जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा प्रयोगात्मक रुपमा विद्यार्थीलाई पराल धुने काट्ने बफाउने सुकाउने र बिउ सहित प्याक तयार गर्ने लगायतका सिप सिकाइएको प्रधानाध्यापक दोलराज ढकालले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष चिरंजीवी ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक दोलराज ढकालले स्वागत एवं सहायक प्रधानाध्यापक धनप्रसाद अर्यालले संचालन गर्नुभएको थियो । कार्यशालामा गाउँपालिकाका ६ माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थी सहभागी थिए ।
