स्याङ्जा १७ मङसिर । बिरुवा गाउँपालिकामा सञ्चालित पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी भुरुङचौकी माध्यमिक विद्यालयले हात पारेको छ ।
बिरुवा गाउँपालिका खेलकूद समितिको आयोजना तथा भुरुङचौकीस्थित पुष्प खेलमैदानमा भएको प्रतियोगिताको संयोजन भुरुङचौकी माध्यमिक विद्यालयले गरेको थियो ।
भुरुङचौकी माध्यमिक विद्यालयले १० स्वर्ण, ९ काश्य र २ रजत पदक सहित उपाधी जितेको हो । जीतसँगै भुरुङचौकी माध्यमिक विद्यालयले ३० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।
प्रतियोगितामा जामुनेडाँडा मावि दोस्रो भएको छ । जामुनेडाँडाले ६ स्वर्ण, ५ रजत र २ काश्य पदक जितेको छ । दोश्रो भएको जामुनेडाँडाले २० हजार नगद सहित मेडल र प्रमाणपत्र पाएको छ ।
बिरुवा मुनलाईट एकेडेमीले ५ स्वर्ण, ४ रजत र ४ काश्य पदक सहित तेस्रो भएको छ । नवज्योति माविले ४ स्वर्ण, ३ रजत र ३ काश्य पदक प्राप्त गरी सान्त्वना भएको छ । प्रतियोगितामा तेस्रो र सान्त्वना भएका बिद्यालयले क्रमश १५ हजार र १० हजार नगद सहित मेडल र प्रमाणपत्र पाएका छन् ।
गण्डकी प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, गाउँपालिकाका अध्यक्ष सूर्य कुँबर, उपाध्यक्ष भगवती शर्मा लगायतले बिजयी बिद्यालय तथा बिद्यार्थीहरुलाई बिभिन्न बिधाका पुरस्कार प्रदान गर्नुभएको थियो । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नाराकासाथ बिरुवा गाउँपालिकाले आईतबारदेखि ७ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरेको थियो ।
प्रतियोगितामा छात्र छात्रा भलिबल, कबड्डी, १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १ हजार ५ सय र ३ हजार मिटर दौड प्रतियोगिता, १ हजार ६ सय मिटर र ४ सय मिटर रिले दौड, सर्टफुट, ज्याब्लिङ थ्रो, लङलम्प, हाईजम्प र त्रिपल जम्प लगायतका खेलहरु भएका थिए ।
प्रतियोगितामा गाउँपालिकाका १० माध्यमिक बिद्यालयको सहभागिता थियो ।
