स्याङ्जा ८ असोज । स्याङ्जामा भदौ अन्तिम दिनसम्म २ सय ७ जनामा डेङ्गीको संक्रमण देखिएको छ । यो तथ्यांक जिल्ला अस्पताल सहित जिल्लाका १० पालिकाको हो ।
चालु आर्थिकबर्षको २ महिनामा जिल्लाका १० वटा पालिका र जिल्ला अस्पताल समेतगरी २ सय ७ जनामा डेगी संक्रमित भएको स्वास्थ्य कार्यालय स्याङजाले जनाएको छ ।
ल्याब अधिकृत पृथ्वी लामिछानेका अनुसार, ‘साउन महिनामा ८२ जना संक्रमित थिए । यहाँका ११ पालिका मध्ये फेदिखोला गाउँपालिका बाहेक सबै पालिकामा संक्रमित भेटिएका छन ।पाँच नगरपालिका र ६ गाउँपालिका मध्ये गल्याङ्मा सबैभन्दा धेरै ५७ जनामा संक्रमण पुष्टी भएको छ ।
यसपछि क्रमशः भीरकोट नगरपालिकामा ४१ जना, जिल्ला अस्पताल स्याङ्जामा २७ जना, वालिङ नगरपालिकामा २२ जना, चापाकोट नगरपालिकामा २० जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी, पुतलीबजार नगरपालिका र कालीगण्डकी गाउँपालिकामा ११÷११ जना, अर्जुनचौपारीमा ७ जना, हरिनास गाउँपालिकामा ५, बिरुवा र आँधीखोला गाउँपालिकाका ३÷३ जनामा संक्रमण पुष्टी भएको छ । साउन महिनाको तुलनामा भदौ महिनामा डेङ्गी संक्रमण ह्वात्तै बढेको देखिएको छ ।
संक्रमित लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो। विशेषगरी पोथी एडिज नामको लामखुट्टेकोे टोकाइबाट मानिसमा सर्छ । डेङ्गीबाट बच्न घर वरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने, घर नजिक झाडी नराख्ने र सुत्दा झुलको प्रयोग गर्न स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईको सुझाव छ ।