स्याङ्जा २३ असोज । भीरकोट नगरपालिका १ र २ स्थित बयँरघारी बजारमा बिहीवारदेखि रमाइलो मेला सुरू भएको छ । एघार दिने रमाइलो मेलाको आयोजना गरिएको हो ।
बयरघरी पिस युथ क्लबले बिजयादशमी तथा दिपावलीको शुभकामना सहित भीरकोट वडा नं. १ स्थित भीरकोट खेलमैदानमा चौथो बयँरघारी रमाइलो मेलाको आयोजना गरेको हो ।
रमाइलो मेलासंगै खुल्ला नगर स्तरीय पुरुष भलिबल प्रतियोगिताको उदघाटन गर्दै गण्डकी प्रदेशमा पूर्वमन्त्री मेखलाल श्रेष्ठले युवाको चाहना र माग बमोजिम देश अघि बढ्न लागेको बताउदै युवा बर्गका सकारात्मक कार्यलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कानुनी शासन र संविधानको पक्षमारही समाजमा शान्ति सुरक्षा कायम गर्ने कार्यमा युवाबर्गलाई सकारात्मक भूमिका खेल्न आग्रह गर्नुभयो ।
युवा नेता समेत रहेका श्रेष्ठले रमाइलो मेला र खेलकुदका कार्यक्रमलाई मनोरंजनका रुपमा मात्र नलिन सुझाव दिनुभयो । प्रचलित नियम कानुनको अधिनमारहि सामाजिक कार्य गर्न र आर्थिक पारदर्शीतामा बिशेष ध्यान दिन समेत उहाको आग्रह छ ।
यसैगरी, नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले भीरकोटको विकास र समृद्धिको लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नगरपालिकाको गरिमा कायम राख्दै शान्त वातावरणमा मेलालाई सम्पन्न गर्ने कार्यमा सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
भीरकोटका निवर्तमान प्रमुख छायाराम खनाल, नेकपा एमालेका विश्वनाथ अर्याल, नेकपा माओवादी केन्द्रका मीनप्रसाद कोइरालाले मेला तथा भलिबल प्रतियोगिताको सफलताको शुभकामना दिनुभएको थियो ।
कात्तिक २ गतेसम्म संचालन गरिने मेलामा १ सय १५ व्यापारिक स्टल र १० वटा स्टल कृषि उपजको लागि निःशुल्क उपलब्ध गराइने आयोजक क्लबका अध्यक्ष रोशन गुरुङले जानकारी दिनुभयो ।
पालिकास्तरीय पुरूष भलिबल प्रतियोगिता २५ गतेदेखी संचालन हुने भएको छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख १५ हजार, द्वितीयले ७० हजार , तृतीयले ४० हजार र सान्त्वना हुनेले ३० हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफि र मेडल प्राप्त गर्ने खेल संयोजक सुरज खाँण ठकुरीले जानकारी दिए । प्रतियोगितामा जिल्लाभित्र र बाहिरका समूहले पनि सहभागी हुने भएका छन ।
मेलामा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, महिलाकालागि रत्यौली प्रतियोगिता सहित स्थानीय र राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती राखिएको आयोजक क्लबका सचिव रेश्मा गुरुङले बताउनुभयो ।
रमाइलो मेलाको उदघाटन हुनु पूर्व स्थानीय आमा समूह, युवा क्लव तथा स्थानीयबासी सहितको सहभागितामा बजार परिक्रमा गरिएको थियो ।