स्याङजा ३ मंसिर । विश्व बालदिवसको अवसर पारेर स्याङ्जामा बालबालिकाहरुका समूह बीच पञ्चेबाजा प्रतियोगिता हुने भएको छ ।
उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकूद मन्त्रालय एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा मंसिर ५ गते शुक्रवारका दिन (भोली) प्रतियोगिता गरिने भएको हो । प्रतियोगितामा पालिकागत बालबालिकाहरु सहभागि हुने भएका हुन् ।
बालबालिकाको अधिकार र बालबालिकाको आवाजलाई गायन र पञ्चेबाजाको संगित मार्फत् थप बुलन्द बनाउन र बालबालिकामा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटनमा गराउने उद्धेश्यले कार्यक्रम आयोजना गर्न लागिएको समाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो ।
संस्कृतिको संरक्षण, परम्परागत सीपको पुस्तान्तरण, हाम्रो उत्सव, विवाह र चाडपर्वको लागि पञ्चेबाजा संरक्षणको मा टेवा पुग्ने कार्यालयको विश्वास रहेको छ । जिल्लाका ११ वटै स्थानीय तहबाट सहभागि हुनको सकिने कार्यालयले जनाएको छ ।
साथै, सो प्रतियोगितामा सांस्कृतिक प्रस्तुती पनि हुने भएको छ । दोहोरी गायक, सर्जक लोकनाथ सापकोटा सहितको कलाकारको पस्तुती पनि रहने भएको छ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १५ हजार, १० हजार, ७ हजार, ४ हजार सहित प्रमाणपत्र प्रदान गरिने भएको छ । कार्यक्रमा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सनाई सबैभन्दा उत्कृष्ट बजाउनेलाई समेत पुरस्कार प्रदान गरिने भएको छ ।
जिल्ला बाल अधिकार समिति र जिल्ला बालसञ्जालको सहयोग र समन्वयमा हुने कार्यक्रम भूतपूर्व सैनिक आवासीय माध्यमिक बिद्यालय, देवानचोक पुतलीबजारमा बिहान १० बजेदेखि सुरु हुने भएको छ ।
भदौ २३ र २४ गतेको जेनी —जी आन्दोलनका कारण भाद्र २९ गते निर्धारित सो कार्यक्रम स्थगित भएको थियो ।
