स्याङ्जा, ३ मंसिर । स्याङ्जा जिल्लामा संचालित बहुवर्षिय मझौला आयोजनाको ३६ प्रतिशत वित्तीय प्रगति भएको छ । आर्थिक वर्ष २०८०÷८१ मा र पछिल्लो वर्ष सम्भौता भएका पाँच करोडसम्मका १५ वटा मझौला आयोजनाको चालु आर्थिक वर्षको पहिला चौमासिक (साउन–कात्तिक) अवधिसम्म समग्रमा ३६ प्रतिशत वित्तीय प्रगति भएको हो ।
जिल्लामा बहुवर्षिय मझौला आयोजनामा सडकतर्फका ९, सडक पुलअन्र्तगत एक र झोलुङ्गे पुल कार्यक्रममा पाँच वटा संचालनमा छन् । १५ आयोजनालाई विनियोजित कुल ३६ करोड ७७ लाख २४ हजार बजेटमध्ये १३ करोड २४ लाख ८६ हजार रुपैयाँ खर्च हुँदा समग्रमा हालसम्म ३६ प्रतिशत वित्तीय प्रगति भएको पूर्वाधार विकास कार्यालय स्याङ्जाले जनाएको छ ।
सडकतर्फका आयोजनालाई ३० करोड ३१ लाख ८७ हजार विनियोजन भएकोमा १२ करोड ३० लाख ४४ हजार खर्च हुँदा ४१ प्रतिशत वित्तीय प्रगति भएको देखिन्छ । सडक पुलअन्र्तगत विनियोजित तीन करोड १९ लाख ९४ हजारको झण्डै ९ प्रतिशत अर्थात २७ लाख ५० हजार खर्च भएको छ भने झोलुङ्गे पुल कार्यक्रममा विनियोजित तीन करोड २५ लाख ४१ हजारमध्ये ६७ लाख दुई हजार खर्च हुँदा करिब २१ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जानकारी दिएको छ ।
सबै आयोजनाको म्याद चालु आर्थिक वर्षको असार मसान्तसम्म रहेको पूर्वाधार कार्यालयका प्रमुख इन्जिनियर दयाराम अधिकारीले बताउनुभया । ‘सडक पुल आयोजनाको तुलनामा सडक आयोजनाहरुको प्रगति राम्रो भएको छ ।’ इन्जिनियर अधिकारीले भन्नुभयो, ‘झोलुङ्गे पुल कार्यक्रमका पाँच आयोजनामध्ये पहिलो चौमासिक अवधिमै दुई वटा आयोजनाको काम शतप्रतिशत सकिएको छ ।’
आर्थिक वर्ष २०८०÷०८१ मा सम्झौता भएको मन्डलीथान–किनारे धुरकोट–ठाँटीभञ्ज्याङ छाप हुँदै दामाचौर जोड्ने सडकको ७६ प्रतिशत प्रगति हुँदा बायाँटारी–सेतीबेनी जोडिने सडक आयोजनाको ७५ प्रतिशत वित्तीय प्रगति भएको छ ।
गल्याङ् नगरपालिकाको जिमुवा–कर्मचौर पाखिचौर सडक खण्डको ६४ प्रतिशत वित्तीय प्रगति हुँदा अर्जुचनौपारी–रापाकोट सडकको ३५ प्रतिशत वित्तीय प्रगति देखिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०८१÷८२ बाट संचालित भीरकोट नगरपालिका–७ को बलमाटा–चिद्याहार हुँदै खिलुङ् जोड्ने सडकको ४३ प्रतिशत हुँदा चापाकोट नगरपालिकाको मण्डलीथान–किनारेभञ्ज्याङ् हुँदै दिसिङ्कोट–दामाचौर सडक आयोजनाको १९ प्रतिशत वित्तीय प्रगति भएको छ । वालिङको वीपीचोक–काफ्लडाँडा सडकको १८ प्रतिशत वित्तीय प्रगति भएको छ भने पुतलीबजारको मालेबगर–न्वारभञ्ज्याङ हुँदै दरौ–सिरुबारी जोडिने मोटरबाटोको १६ प्रतिशत प्रगति र ढडुवा–ठूलाडिही मसर्का हुँदै मोहरिया–दुलेगौडा सडक आयोजनाको १५ प्रतिशत वित्तीय प्रगति भएको छ ।
सडक पुलतर्फको फेदीखोला गाउँपालिकाको पैरे–खत्रीरह बाख्रे–तिलस्वाँरा ग्रामीण सडकको पुलका लागि विनियोजित तीन करोड १९ लाख ९४ हजारको झण्डै ९ प्रतिशत अर्थात २७ लाख ५० हजार रुपैयाँ मात्रै खर्च भएको कार्यालयले जनाएको छ । गएको वर्ष सम्झौता भएको पुल आयोजनाको पहिलो किस्ताको रकम भुक्तानी गरिएको कार्यालयका इन्जिनियर शिवजी ढुङ्गानाले बताउनुभयो ।
गएको आर्थिक वर्षको अन्त्यमा सम्झौता भएको झोलुङ्गे पुल कार्यक्रमका पाँच आयोजनामध्ये पुतलीबजार नगरपालिकाको नारायणथान–मजुवा र चापाकोट नगरपालिकाको मादी बकोनटार–कसेनी झोलुङ्गे पुलको काम पाँच महिनामा शतप्रतिशत सकिएको छ । हरिनास गाउँपालिकाको आडबिसे–बुम्दी ललैहीको ९५ प्रतिशत वित्तीय प्रगति भएको छ भने चापाकोटको घुर्लेचौर–चिलौदीखोला र बिरुवाको चराँग–साउन्दी धुवादीखोला झोलुङ्गे पुल आयोजनाको काम भर्खर शुरु भएको पूर्वाधार कार्यालय जनाएको छ ।
जिल्लामा एक करोडसम्मका साना पूर्वाधारका दर्जनौ योजनाहरु निर्माणको तयारी गरिएको छ । केहि योजनाको निर्माण प्रक्रिया शुरु भएको छ भने कतिपय योजनाको विस्तृत आयोजना प्रतिवेदन तयार भइरहेको कार्यालयले जनाएको छ । पूर्वाधारका गतिविधिले जीवनस्तरमा सुधार, यातायातमा सहजता र पर्यटन क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पूर्वाधार कार्यालयको भनाई छ ।
