स्याङ्जा २९ मंसिर । अर्जुनचौपारी गाउँपालिकाले दरौंखोलामा विभिन्न जातका ८० हजार माछाका भुरा छाडेको छ ।
कालीगण्डकी ुएु मत्स्य ह्याचरी सेवा, बेलटारी स्याङ्जाको सहयोगमा पालिकाले दरौंखोला, केवरेखोला र दिर्जेखोलामा गरि ठेड, गर्जी र हाडे जातका माछाका भुरा छाडेको हो ।
पालिका अध्यक्ष प्रकाश तिवारीले माछा पालनबाट आर्थिक आर्जनमा जोड्ने पालिकाको नीति तथा कार्यक्रम अनुसार प्रत्येक वर्ष खोलामा माछा भुरा छाड्दै आएको बताए । विभिन्न प्रजातिका माछाका भुराहरु हरेक वर्ष छोडिने र खोलालाई पालिकाको आर्जनका माध्यम बनाउने जानकारी दिनुभयो ।
तिवारीले धेरै ठाउँमा खोलालाई माछामार्फत आय आर्जनमा जोडिएको र विज्ञसङ्गको छलफल गरेर खोलामा माछाका भुरा हालेको बताउनुभयो। खोलाको चार किलोमिटर क्षेत्रमा ६ ठाउँमा भुरस हालेको पालिकाले जनाएको छ । माछाका भुरा हालेसङ्गै पालिकाले माछा मार्ने कार्य निषेध गरिएको उहाले जानकारी दिनुभयो ।
परम्परागत रुपले माछा मारी जीविकोपार्जन गरिरहेका समुदाय तथा व्यक्तिहरुले समेत माछा मार्न नपाउने र दैनिक जीविकोपार्जनमा कठिनाई उत्पन्न हुने अवस्थामा राहत उपलब्ध गराउने पालिकाले जनाएको छ ।
पालिकाले जिल्ला प्रशासन कार्यालय, भीरकोट नगरपालिकाको कार्यालय र अर्जुनचौपारी प्रहरी चौकीलाई समेत माछा मार्न निषेध गरिएको विषयमा जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेको छ ।
पालिकाको आग्रह र निर्देशन विपरीत माछा मारेको भेटिएमा वा खबर पाइएमा कानुनबमोजिम कारबाही गरिने पालिकाले जनाएको छ ।