स्याङ्जा २१ भदौ । शारीरिक अपांगता पहिचान तथा स्वास्थ्य परिक्षण घुम्ति शिविर शनिवार भएको छ । अपांग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाको सेवा शुभारम्भको ४१ औं बार्षिक उत्सवको अवसर पारेर स्याङ्जा जिल्लाभरलाई लक्षित गर्दै अपांगता भएका बालबालिकालाई लक्षित गर्दै शिविर गरिएको हो ।
अपांग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाको आयोजना तथा पुतलीबजार नगरपालिका सहित सबै पालिकाहरु, सामाजिक विकास कार्यालय, स्याङ्जा, स्माइल ट्रेण्ड बि एण्ड वी अस्पताल, ग्वार्को, ललितपुर, अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपाल र स्याङ्जा अपांग समाज स्याङ्जाको सहयोगमा शिविर गरिएको हो ।
शिविरको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले अपांगताका क्षेत्रमा क्रियाशिल संस्थाहरुसंग सहकार्य गर्दै काम गर्ने बताउनुभयो । अपांगता पहिचान गर्दै पालिकाबाट शिक्षा, स्वास्थ्य र रोजगारका लागि आवश्यक सेवा सुबिधाका लागि सहयोग गर्ने पनि उहाले बताउनुभयो । आफनै जिल्ला तथा नगरमा आएको स्वास्थ्य शिविरबाट धेरै भन्दा धेरै बालबालिकाले लाभा लिन समेत प्रमुख रेग्मीले आग्रह गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख देवी अर्याल र नगर प्रवक्ता मनोज पौडेलले अपांगता ब्यक्ति र उहाँका आश्रित परिवारले भोग्नु परेको दुख कष्टका बारेमा जानकारी गराउदै समयमै अपांगता पहिचान संगै उपचार गर्न सकेमा अपांगता ब्यक्तिले जीवन जीउनमा सहज हुनेमा जोड दिनुभयो ।
अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपाल, स्याङ्जाका अध्यक्ष युवराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्याङ्जा अपांग समाज स्याङ्जाका अध्यक्ष राम शर्मा पोखरेलले स्वागत र शिविर संचालनका कार्यक्रम संयोजक शालिकराम तिमिल्सिनाले संचालन गरेका थिए ।
शिविरमा पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना, सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेल, नगर कार्यपालिका अन्र्तगत सामाजिक विकास समिति संयोजक ईमबहादुर सेन लगायत अपांगता क्षेत्रमा क्रियाशिल संघ, संस्थामा आवद्ध रहेका र अपांगता भएका बालबालिकाका अभिभावक लगायतको सहभागिता थियो ।

शिविरबाट ३६ बालबालिका प्रत्यक्ष लाभान्वित भएका छन । शिविरमा आएका मध्ये २८ जना बालबालिकालाई औषधी बितरण गरिएको, ६ जनालाई अपांग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपामा बोलाइएको, ४ जनालाई सहायक सामाग्री नाप जाँच गरिएको र एक जनाको ड्रेसिङ् गरिएको डा. निराजन थापाले जानकारी दिनुभयो । शिविरमा फिजियोथेरापी सम्बन्धी प्रशिक्षण दिइएको थियो ।
शिविरले अपांगता भएका बालबालिकाका लागि धेरै राम्रो सेवा प्रवाह गरेको अभिभावकहरुको भनाई छ । आउदा दिनमा जिल्लाका अन्य पालिकामा पनि यस्तै प्रकारका घुमित् शिविर आयोजना गरिदै जाने बताइएको छ ।
