स्याङ्जा ३ भदौ । फेदीखोलामा संचालित अमोर सेवा बालगृहलाई स्याङ्जा स्थित कर्मचारी मिलन केन्द्र (अधिकृत समाज) ले पहिलो चरणमा एक लाख ५० हजार नगद सहयोग हस्तान्तरण गरेको छ । सहयोग रकम केन्द्रका संरक्षक प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले बालगृहका संचालक कमला पराजुलीलाई हस्तान्तरण गरेका हुन ।
बालगृहमा मुलुकका बिभिन्न जिल्लाबाट आएका ४५ जना ५ बर्षदेखि २० बर्षसम्मका बालबालिकाले आश्रय पाइरहेका छन । उनीहरुलाई आवासीय सुबिधा सहित उनीहरुको रुची र क्षमता अनुसारकोे शिक्षा आर्जन गर्ने प्रवन्ध संस्थाले मिलाएको छ । त्यहाँ रहेका बालबालिका मध्ये केहीले प्राबिधिक धारतर्फको स्नातक तहसम्मको अध्ययन पूरा गरिसकेका छन । बालबालिकाका लागि संचालक कमलाले बिभिन्न ब्यक्ति, संस्था र राज्यका निकायसंग हारगुहार गरेर संकलन गरेको स्रोतबाट पालनपोषण र शिक्षादीक्षाको प्रवन्ध मिलाउनु भएको छ । यसकालागि नियमित र स्थायी स्रोत भने केही छैन ।
केहीदिन अघि स्थलगत निरीक्षण तथा अवलोकनका लागि त्यहाँ गएका प्रजिअ अर्याल, प्रहरी प्रमुख दधिराम न्यौपाने र प्रमुख कोष नियन्त्रक तथा केन्द्रका अध्यक्ष थपनारायण शर्माले सदस्यता वापत प्राप्त हुने रकम बालबालिकाको हितमा खर्च गर्न आवश्यक परामर्श थालेका थिए । मिलन केन्द्रको बैठकबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेपछि सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यालय प्रमुख तथा लेखा प्रमुखहरुको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो ।
स्याङ्जा स्थित बिभिन्न सरकारी कार्यालयहरुमा झण्डै २ सय जना अधिकृत स्तरका कर्मचारी रहेको र सदस्यता वापत बार्षिक १ हजार रुपैंया मिलन केन्द्रले लिने गर्दछ । केन्द्रले आगामी दिनमा रामदी र केलादी स्थित बृद्धाश्रमलाई पनि आर्थिक तथा बस्तुगत सहयोग गर्ने संकल्प गरेको अध्यक्ष थमनारायण शर्माले जानकारी दिनुभयो ।
बालगृह सम्मको सहज पहुँच मार्ग निर्माण गर्न राज्यका निकायले बेलैमा ध्यान दिनु जरुरी भएको बताउदै शर्माले भन्नुभयो — सर्पदंशबाट पीडित बालकको उपचार र अन्य बालबालिकाको नियमित स्वास्थ्य परीक्षण र उपचारका लागि पनि सामाजिक अभियन्ताहरुले समयमै ध्यान दिन जरुरी छ ।