स्याङ्जा २९ जेठ । आयआर्जन, सीप विकास तथा जीवीकोपार्जन सम्बन्धी दुई दिने बाटेको धुप बनाउने तालिम सम्पन्न भएको छ ।पुतलीबजार नगरपालिका वडा नं. ११ जैसीडाडा सामुदायिक सिकाई केन्दको आयोजना तथा पुतलीबजार नगरपालिकाको समन्वयमा तालिम गरिएको हो ।
तालिमको समापनका अवसरमा बोल्दै उपप्रमुख देवी अर्यालले सबै उमेर समूहका ब्यक्तिले बाटेको धुप बनाउन सक्ने बताउनुभयो । घरमा बसेर बनाउन सकिने यस्ता सीपमूलक तालिमबाट प्रत्यक्ष लाभ लिन समेत सहभागीलाई उहाले सुझाव दिनुभयो । दैनिक जिवनमा बाटोको धुपको उपयोग गरिने भएकाले तालिममा सिकेका सीपलाई ब्यवहारमा आयआर्जन बढाउन सकिनेमा उहाले जोड दिनुभयो ।
सोही कार्यक्रममा पुतलीबजार बिज्ञ समिति संयोजक भरतप्रसाद लम्साल, कार्यपालिका सदस्य संजीता आर्याल, प्रशिक्षक गायत्री अर्याल, सहभागी बिष्णु अर्याल लगायतले बाटोको धुपको उपयोगीताका बारेमा जानकारी गराउनुभएको थियो ।
जैसीडाडा सामुदायिक सिकाई केन्दका अध्यक्ष कबिराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिचालिका शान्ति रेग्मीले स्वागत र शिक्षक एवं समाजसेवी माधव रेग्मीले संचालन गर्नुभएको थियो । तालिममा ५० जना महिलाहरुको सहभागिता थियो ।
