स्याङ्जा ४ मंसिर । पुतलीबजार नगरपालिकाले एआई —एक्सरे प्रबिधिद्धारा छाती रोग (क्षयरोग) सम्बन्धी सक्रिय खोजपड्ताल शिविर सम्पन्न भएको छ ।
पुतलीबजार नगरपालिका वडा नं. ५ मा बिहीवार गरिएको एक दिने शिविरको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले पुतलीबजार नगरबासीलाई लक्षित गर्दै क्षयरोग सम्बन्धी खोजपडताल शिविर सुरु गरेको बताउनुभयो ।
जो कसैलाई पनि क्षयरोग सम्बन्धी शंका लागेमा वा क्षयरोगका लक्ष्यण देखिएमा तत्काल स्वास्थ्यकर्मीसंग परामर्श लिई उपचार गर्न गराउन सुझाव दिनुभयो । क्षयरोगका औषधी नियमित सेवन गरेमा समयमै निको हुने र औषधी निशुल्क पाईने प्रमुख रेग्मीको भनाई छ ।

पुतलीबजार नगरपालिका ७ का अध्यक्ष कृष्णबहादुर आले, वडा ३ का सदस्य सोमबहादुर कुँवर, ५ का सदस्य कमला गुरुङ, गण्डकी प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्रका डा. तिलकमान सिंह भण्डारी, प्रदेश स्वास्थ्य कार्यालय स्याङ्जाका अधिकृत बिष्णु सुवेदी लगायतले क्षयरोग परिक्षणपछि पत्ता लगाउन सकिने र उपचारपछि निको हुने रोग भएको जानकारी गराउनुभयो । रोगलाई लुकाउन नहुने जनाउदै समयमै परिक्षणगरी स्वस्थ्य बन्न समेत सुझाव दिनुभयो ।
पुतलीबजार नगरपालिका ५ का अध्यक्ष अर्जुनकुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुतलीबजार स्वास्थ्य शाखा प्रमुख अनिषा सुवेदीले स्वागत र स्वास्थ्य अधिकृत इश्वर थापाले संचालन गर्नुभएको थियो ।
शिविरमा पुतलीबजार वडा नं. ३, ५, ६ र ७ का गरी २ सय ८ जनाको एआई प्रबिधिद्धारा —गरिएको एक्सरेबाट ६ जना शंकास्पद बिरामीको खकार परिक्षण गरिएको छ ।
