स्याङ्जा २९ मंसिर । कृषि औजारसहित फलामका भाँडा बनाउने कामका लागि नेपाली समाजमा विश्वकर्मा समुदायले परम्परादेखि नै गर्दै आएको पेशा हो । अहिले पनि अधिकांश विश्वकर्मा (विक) समुदाय आफ्नो परम्परागत सीप र कलालाई निरन्तरता दिदै आउनुभएको छ ।
यस्तै आफ्नो परम्परागत सीप र कलालाई निरन्तरता दिनेमा वालिङका विश्वकर्मा (विक) हरु पनि सक्रिय छन् । वालिङ नगरपालिका १४ रैपालाका विक परिवारहरुको आरने सीप र कला स्याङ्जाकासाथै विभिन्न जिल्लासम्म लोकप्रिय छ । यहाँका शिल्पीहरुले बनाएका कृषि औजारहरु विभिन्न जिल्लासम्म पुग्ने गर्दछन् । रैपालामा विकहरुको २८ घर परिवार छन् ।
तर आरन पेशा चलाउनका लागि आवश्यक पर्ने कोइला आफ्नै ठाउँमा पाईंदैन । बाहिरबाट ल्याउनुपर्दा गाउँबाट विस्थापित हुने अवस्था आएको रैपालाबासीको दुखेसो छ । परम्परादेखि जानेको आरन पेशा हो, यसबाट जिविकोपार्जन गर्न सकिन्छ तर गाउँठाउँमा कोइला पाउन नसक्दा विस्थापित हुने क्रम बढेको यहाँका सन्तबहादुर विक भन्नुहुन्छ ।
पहिला प्रत्येक घरमा आरन चल्थ्यो तर अहिले ३÷४ घरमा मात्र सीमित छौं, विकले भने अरु बाहितिर लागे । यहाँका दाजुभाईहरु वालिङबजार, पुतलीबजार, पोखरा, बुटवललगायतका ठाउँमा गएका छन् । ती ठाउँमा गएर पनि परम्परागत आरन पेशालाई नै आधार बनाएकोमा खुसी लाग्छ तर गाउँ खालीहुँदै जाँदा नरमाइलो लागेको विकको भनाई छ ।
यसैगरी यहाँका अर्का ६३ वर्षीय सन्तबहादुर भन्नुहुन्छ—“आरन पेशाबाट गाउँमै अडिन र जिविकोपार्जन गर्न सकिन्छ, तर कोइलाको समस्या छ । गाउँघरमै कोइला बनाउन वा पाउन सके धेरै राम्रो हुनेथियो । जुनसुकै रुखको कोइला राम्रो हुँदैन, पाएसम्म सालको कोइला उत्तम हुन्छ । गाउँघरका जङ्गलमा साल काट्न पाईंदैन, त्यसै सुकेर र कुहेर गएका छन् ।
तिनै बुढा सालका रुख काट्न छेकथुन नहुने हो भने बुटवललगायतका ठाउँबाट कोइला मगाउन पर्दैनथ्यो, घरमै बसेर आरन चलाउन सकिन्थ्यो । यसै कुहेर जानुभन्दा प्रयोगमा ल्याउन पाउने नीति भैदिए हामीजस्ता आरन व्यवसायीका लागि धेरै राहत हुनेथियो ।”
यसैगरी यहाँका अर्का आरन व्यवसायी दुर्गाबहादुर विकको पनि भनाई उस्तै छ । सामान बनाउन सके विक्रिको समस्या छैन । अहिले धेरै ठाउँमा बाटोघाटो पुगेको छ, अर्डर अनुसार सामान बनाएर पठाउन सकिन्छ र पठाउँदै आएको छु ।
बुटवलदेखि कोइला ल्याउनुपर्दा लागत धेरै आउँछ । यहाँ बसेर काम गरे पनि पुतलीबजार लगायत छिमेकी जिल्लाका बजारमा आफूले बनाएको सामान पुग्ने गरेको विकले सुनाउनुभयो । उहा भन्न्नुहुन्छ–“सामान विक्दैन कि भन्ने समस्या छैन, स्याङ्जाकासाथै, पाल्पा, पर्वत, गुल्मी, अर्घाखाँची, बाग्लुङ र पोखरालगाएतका बजारहरुबाट अर्डर आउँछ । भाँडा पसलेहरुले माग गर्छन्, उहाहरुको माग अनुसारका सामान बनाएर पठाउँछु । गाउँठाउँमा कोइला पार्इँदैन, बुटवलदेखि ल्याउनुपर्छ ।
महङ्गो भएपनि जेनतेन चलाइएको छ । स्थानीय जङ्गलमा कोइला बनाउन पाए सहज हुने थियो । कोइलाको ठाउँमा विकल्प विद्युतीय माध्यम हो ।यो अलिक महङ्गो पर्नजान्छ । यसका लागि स्थानीय पालिककाबाट केही सहुलियतको व्यवस्था हुनसके राहत पुग्ने थियो । यसकासाथै युवाहरुलाई पनि गाउँमै आरन पेशामा सक्रीय गराउन टेवा पुग्ने थियो ।”
पहिला पहिला वार्षिक तीन÷चार पाथी अन्नका भरमा बालीघरे काम गर्नुपथ्र्यो, अहिले त्यस्तो छैन र त्यसरी आफ्नो खर्च चल्दा पनि चल्दैन, त्यसैले केही वर्षयता नगदमा काम हुँदै आएको विकले जानकारी दिनुभयो । ५६ वर्षीय विकका दुई छोरा र आँफू श्रीमान श्रीमतीसहित ४ जनाको परिवार छ । दुबै छोराले आरनको काम जानेका छन् ।
ठूलो छोराले आफ्नो काममा सहयोग गरेको र कान्छो छोरा वालिङ बजारमा अटोरिक्सा चलाउनेगरेको उहाले भन्नुभयो । यही पेशाबाट दुई छोराको पढाई लेखाई गराएँ हुर्काएँ बढाएँ उहाले भन्नुभयो अझ केही वर्ष त आरनको काम गर्न सक्छु ।
