स्याङ्जा १४ फागुन । फागुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्रि पर्व आज मनाइँदै छ। हिन्दु धर्मावलम्बी श्रद्धालुले श्रद्धा र भक्तिपूर्वक स्याङ्जा लगायत देशभरका श्रद्धालु भक्तजनहरुले भगवान् शिवको पूजा–आराधना गरि दिनभर मनाउदैछन।
महाशिवरात्रिको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान् शिवको पूजा–आराधना गर्ने परम्परा रहेको छ। भगवान् शिव भक्तहरूको कल्याण गर्ने र चाँडै प्रसन्न हुने र संहारका देवताका रूपमा पनि उहाको महिमा छ। भगवान् शिवलाई पञ्चामृतले स्नान गरी चन्दन, सेता फूल, बेलपत्र आदिले पूजा गर्ने विधान छ।
महाशिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर भक्तपुरको डोलेश्वर, सिन्धुलीको कुशेश्वर र सिन्धुपाल्चोकको फटकेश्वर लगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ। पशुपतिनाथको दर्शन गर्न मुलुकका विभिन्न भागका साथै छिमेकी राष्ट्र भारतबाट समेत उल्लेख्य संख्यामा श्रद्धालु काठमाडौं आएका छन्।
नेपालका साथै भारतमा समेत धुमधामसँग यो पर्व मनाइन्छ। भारतमा द्वादश ज्योतिर्लिङ्गका साथै साना ठूला शिव मन्दिरमा घुइँचो लाग्छ। शिवरात्रीमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन् । कतिपय रातभर उपवास गर्छन् । शिवलिंगलाई पानी र बेलपत्र चढाएपछि मात्र आफ्नो उपवास चढाउँछ । महिलाका लागि शिवरात्रीको विशेष महत्व छ ।
धार्मिक मान्यता के छ भने, सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि भगवान शंकर ब्रम्हाबाट रुद्रको रुपमा अवतरण हुनुभएको थियो । प्रलयको बेलामा यसै दिन भगवान शिवले तान्डव नाच्दै ब्रम्हान्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त भएको स्मरण गर्दै यस दिनलाई महाशिवरात्रीका रुपमा मनाइदै आएको भन्ने भनाई छ ।