स्याङ्जा २० असोज । आश्विन शुक्ल पूर्णिमा अर्थात् सोमबार कोजाग्रत पूर्णिमा। धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदैछ। यद्यपि सोमबार चतुर्दशी तिथि १३ घडी ३५ पला अर्थात् ११ बजेर २५ सम्म छ। त्यसपछि पूर्णिमा तिथि छ।
सोमबार साँझमै पूर्णचन्द्र देखिने भएकाले कोजाग्रत पूर्णिमा सोमबार नै मनाउन निर्देश गरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो । मंगलबार बिहान ९ बजेर ३५ मिनेटसम्म पूर्णिमा तिथि छ। यसैगरी विजयादशमीका दिन शुरु भएको टीका जमरा लगाउने क्रम पनि सोमबार सम्पन्न हुँदैछ।
विजयादशमीदेखि चतुर्दशीसम्म पनि टीका लगाउन नभ्याएकाहरूलाई पूर्णिमाका दिन बिहान टीका लगाउने र जमरा तथा दशैँका पूजासामग्री विसर्जन चलन छ।आश्विन शुक्ल प्रतिपदाका दिन दशैँघरमा छरिएको जौको अङ्कुर ९जमरा० कोजाग्रत पूर्णिमाका दिन बिहान विसर्जन गर्छन्।
कोजाग्रत पूर्णिमाको साँझ समृद्धिकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने विधान पुराणहरूमा पाइन्छ। यो दिन रातभरि जाग्राम बसी लक्ष्मीको आराधना गर्नाले समृद्धि प्राप्त हुने मान्यता रहेको धर्मसभा नेपालका अध्यक्ष डा। माधव भट्टराईले बताउनुभयो ।
भगवान् श्रीकृष्णले शरद पूर्णिमाको दिनदेखि रासलीला गरेको पुराणमा उल्लेख छ। वर्षको एक पटक यो दिन चन्द्रमाको सोह्र कलाले परिपूर्ण हुने बताइन्छ। कोजाग्रत पूर्णिमाका दिन नेपालका राष्ट्रप्रमुखले भक्तपुरस्थित नवदुर्गा शक्तिपीठ दर्शन गर्ने परम्परा छ।
यसैगरी, नवरात्रको पहिलो दिन शैलपुत्री देवीको पूजा गर्ने परम्परा छ । दोस्रो दिन ब्रह्मचारिणी शक्तिको पूजा उपासना, तेस्रो दिन चन्द्रघण्टा शक्तिको उपासना, चौथो दिन कुष्माण्डा शक्तिको उपासना हुन्छ ।
यसैगरी, पाँचौँदिन स्कन्दमाता, छैटौँ दिन देवी कात्यायनी, सातौँ दिन कालरात्रि देवीको पूजा उपासना गरिन्छ ।नवरात्रको आठौँ दिन पुजिने देवी महागौरी र नवरात्रको नवौँ दिन पुजिने देवीको नाम सिद्धिदात्री हो ।
यस प्रकार स्वयं भगवान् ब्रह्माजीले मार्कण्डेय ऋषिलाई यी नौ नामको उपदेश दिनुभएको हो । मनुष्य चाहे जुनसुकै कष्ट या सङ्कटमा परेको होस्, नवरात्रिभरि विशेष गरेर देवीका नौ नामको स्मरण गर्नाले ऊ तत्कालमै कष्ट या सङ्कटबाट सजिलैसँग छुट्न सकिन्छ भन्ने धार्मिक मान्यता एवं विश्वास छ ।
