स्याङ्जा, ४ मंसिर । स्याङ्जाको आँधीखोला गाउँपालिकाका कृषक गाउँमै दूध संकलन केन्द्र स्थापना भएपछि उत्साहित भएका छन् । नवप्रवद्र्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाले वडा नं.–४ को बाङ्सिङ्मा दूध संकलन तथा बजारीकरण केन्द्र स्थापना गरेपछि कृषकहरु उत्साहित भएका हुन् ।
गाउँपालिकाले बाङ्सिङ् साना किसान कृषि सहकारी संस्थालाई दूध संकलन तथा बजारीकरण केन्द्र हस्तान्तरण गरेको छ । नवप्रवर्धन कार्यक्रम अन्तर्गत वडा भवनसँगै निर्माण गरिएको केन्द्र स्थापना गरिएको हो । गाउँपालिकाले अन्य वडामा निर्माणाधिन संकलन केन्द्र समेत सहकारीलाई हस्तान्तरण गर्ने जनाएको छ ।
गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउँदै कृषकलाई आर्थिक रुपमा सवल बनाउने योजनासँगै दूध उत्पादनमा वृद्धि र बजारीकरणको सहजीकरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले बताउनुभयो । संकलन केन्द्र सञ्चालनमा आएपछि विचौलियाबाट कृषक ठगिने प्रवृत्तिको अन्त्यसँगै उत्पादित दूध केन्द्रबाटै बिक्री वितरण गरिने भएपछि कृषकहरु बेचबिखनको झण्झटबाट समेत छुटकरा पाएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
संकलित दूध सहकारी मार्फत दैनिक पाँच सय लिटर बजार पठाउने गरिएको छ । गाउँपालिकाको ५ र ६ वडामा उत्पादित दूध मुख्य संकलन केन्द्रमा ल्याउने र पोखराका विभिन्न दूध डेरी उद्योगमा पठाउने गरिएको छ । संकलन केन्द्र मार्फत दूध बिक्री हुन थालेपछि समय बचत र आम्दानीमा वृद्धि भएसँगै कृषकहरु गाई, भैसीपालनमा आकर्षित भएका छन् ।
आर्थिक वर्ष २०८१÷०८२ बाट सुरु गरिएको कार्यक्रम अन्तर्गत ३५ लाखको लागतमा केन्द्रमा आवश्यक पर्ने प्रशोधनका सामग्रीको व्यवस्थापन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिनुभयो । पाँच हजार लिटर क्षमताका चिलिङ् भ्याट, पाँचवटा मिल्क एनालाईजन सहित अत्यावश्यक उपकरण तथा पाँचवटा डि–फ्रीज र ५० वटा दूध संकलन क्यान सहकारीलाई उपलब्ध गराएको सापकोटाले बताउनुभयो ।
सहकारीमा झण्डै एक सय दुध उत्पादक कृषक आवद्ध छन् । तोकिएको मापदण्ड अनुसार गुणस्तरीय दूध ल्याउने कृषकले प्रतिलिटर १३० रुपैयाँसम्म मूल्य पाउने गरेका छन् । पोखरामा दूधको धेरै माग रहेको भन्दै आफूहरुले गुणस्तरमा ध्यान दिँदै आएको सहकारीका अध्यक्ष खिमलाल पाध्यले बताए । आँधीखोलाबाट पोखरा नजिकैको दुरीमा रहेकाले उत्पादित दूध सहजै र कम लागतमा बिक्री गर्न सकिएको अध्यक्ष पाध्यले जनाउनुभयो ।
दूध उत्पादन वृद्धि गर्न आँधीखोला गाउँपालिकाले दूधमा प्रतिलिटर चार रुपैयाँ अनुदान दिने योजना अगाडी सारेको छ । सहकारी संस्थासँग सहकार्य गर्दै दूध उत्पादक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने व्यवस्था गरिएको छ । उत्पादित दूध संकलन केन्द्रमा जम्मा गर्ने र सहकारी मार्फत जम्मा गरेकोे तथ्याङ्को आधारमा अनुदान दिने तयारी गरिएको गाउँपालिका प्राविधिक विवेक आचार्यले जानकारी दिनुभयो ।
केन्द्र सञ्चालनमा आएसँगै गाउँमै उत्पादित दूध सहजै बिक्री वितरण हुँदा कृषकलाई ठुलो राहत भएको छ । सहकारीले बजारीकरण गर्नेगरी दूध संकलन केन्द्र सञ्चालनमा ल्याएपछि कृषक व्यवसायप्रति थप आकर्षित हुने विश्वास गरिएको स्थानीय अगुवा कृषक रुकुमदत्त पौडेलले बताए । उनका अनुसार कृषकहरु दूधको उचित मूल्य पाउने र आम्दानी बढ्नेमा आशावादी छन् ।
