स्याङ्जा १८ कात्तिक ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रतिनिधिसभातर्फ ५८ जिल्ला महिला उम्मेदवारविहीन छन्।
निर्वाचन आयोगका अनुसार ५८ जिल्लाका ६१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरु महिला उम्मेदवारविहीन भएका हुन्। नेपालको संविधानले कम्तिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ ।
निर्वाचनका लागि प्रतिनिधिसभातर्फ १६५ निर्वाचन क्षेत्रमा दलीय र स्वतन्त्र गरी २ हजार ४१२ जनाको उम्मेदवारी परेको छ। प्रतिनिधिसभा सदस्यका लागि सबैभन्दा बढी नेकपा एमालेले १४१ सिटमा उम्मेदवार खडा गरेको छ। ११ दलले एकमात्र सिटमा उम्मेदवारी दिएका छन् भने विभिन्न निर्वाचन क्षेत्रमा गरी ८६७ जना स्वतन्त्र उम्मेदवार छन्।
निर्वाचन आयोगले कुनै पनि महिला उम्मेदवार नभएका निर्वाचन क्षेत्र सार्वजनिक गरेको छ । आयोगका अनुसार ६१ वटा निर्वाचन क्षेत्रमा कुनै पनि महिला उम्मेदवार प्रत्यक्षतर्फ उठेका छैनन् ।
पुरुषभन्दा बढी महिलाको जनसंख्या भएको नेपालजस्तो देशमा अझै पनि महिला उम्मेदवार प्रत्यक्षतर्फ कम हुनुलाई गम्भीर मुद्दाका रूपमा हेरिएको छ । प्रतिनिधिसभामा १० प्रतिशतभन्दा कम महिला उम्मेदवार छन् भने कुनै पनि प्रदेशसभामा १२ प्रतिशतभन्दा बढी महिला उम्मेदवार नरहेको निर्वाचन आयोगको विवरणले देखाउँछ।
प्रतिनिधिसभातर्फ महिला उम्मेदवारको प्रतिशत ९।३३ छ । त्यस्तै प्रदेशसभातर्फ प्रदेश १ मा १०।२ प्रतिशत, मधेसमा ७।३५ प्रतिशत, बागमतीमा १२ प्रतिशत, गण्डकीमा १२।३४, लुम्बिनीमा ५।८६ प्रतिशत, कर्णालीमा २।५८ प्रतिशत र सुदूरपश्चिममा ६।७४ प्रतिशत महिला उम्मेदवार रहेका छन् ।
