स्याङ्जा २५ साउन । संगठित हिन्दु सामर्थ नेपाल भन्ने मुल नाराका साथ हिन्दु स्वयंसेवक संघ नेपाल स्याङ्जाले हिन्दु धर्म, संस्कार र संस्कृति सम्बन्धी स्याङ्जा सदरमुकाममा बुधवार प्रशिक्षण कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सेवा प्रमुख एवं पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयका पूर्व निर्देशक डा. कालु शर्मा सुवेदीले हिन्दु धर्मप्रति दिनप्रतिदिन आर्कषण बढ्दो रहेको बताउनुभयो । हिन्दु धार्मिक ग्रन्थ बैज्ञानिक रुपमा उत्कृष्ठ र परिक्षणले समेत प्रमाणित भैसकेकाले हिजोआज यूरोप र अमेरिकामा पनि हिन्दुधर्मालम्बीहरु बढेको बताउनुभयो । विश्वकै एकमात्र राष्ट्र हिन्दु राष्ट्र बनाउन सबै एकजुट हुनु पर्नेमा उहाले जोड दिदै हिन्दुधर्म प्रति गरिएका नकारात्मक प्रचारलाई बास्तविक कुरा गरेर बुझाउन समेत सुझाव दिनुभयो।
कार्यक्रममा सुदुरपश्चिम स्वयंसेवक संघका प्रचारक नरेन्द्रदेव, कास्की, स्याङ्जा, पर्वतका स्वयंसेवक प्रचारक सागर अधिकारी लगायतले धर्म सम्बन्धी आ आफना धारणा ब्यक्त गर्नुभएको थियो। हिन्दु स्वयंसेवक संघ नेपाल स्याङ्जका संयोजक यदुनन्दन अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव ऋषिराम शर्माले स्वागत एवं नगर संयोजक अच्यूतप्रसाद पोखरेलले संचालन गर्नुभएको थियो ।