पदम श्रेष्ठ,
पर्वत २३ साउन । स्याङ्जा र पर्वत जिल्लाको संगम विन्दुमा रहेको “डहरे देउराली”मा करिब १०० फिट अग्लो विशाल भैरबको अर्धकद देखिएको दावी गरिएको छ । “डहरे देउराली”को आश्रमबाट भवानी मन्दिर जाने विच बाटोमा रहेको चौताराबाट स्पष्टसँग भगवान भैरवको शिर देख्न सकिने भनिएको छ ।
केही दिन अघि “डहरे देउराली”मा ध्यान गर्न आएका एक साधक प्रकट आनन्दले साधनामा रहँदा भगवान भैरव उत्तर तर्फ फर्केर बसेको थाहा पाएपछि उहाले आँखा खोलेर हेर्दा देखेको बताउनुभयो । उहाले उक्त स्थलमा मोक्षद्वार र गुफा रहेको ध्यान दृष्टिबाट देखेको बताउनुभएको छ । साधक आन्नदका अनुसार उक्त मोक्षद्वारबाट प्रवेश गरेमा मोक्ष पाइने उल्लेख गर्नुभएको थियो । सदियौं देखि भवानी दुर्गाको पुजा गर्न र त्यस ठाउँमा ध्यान, योगा गर्न सन्त महात्मा ऋषिहरु आएपनि भगवान भैरव रहेको जानकारी भएको थिएन ।
साधक आनन्दले बताएका भगवान भैरव र मोक्षद्वार भेटिएपनि गुफा भने भेट्न नसकिएको श्री मोक्षद्वार वालसिद्धयोगाश्रम डहरेका अध्यक्ष दिपक श्रेष्ठले बताउनुभयो। उहाका अनुसार “उत्तर तर्फ कामधेनु गाईको शिर, मोक्षद्वार, भैरव, सिद्धवावा, दक्षिण तर्फ आसनमा किष्ण, हनुमान जी, सिंह, कालीखर्क तर्फ भगवति दुर्गाको एक पाउ रहेको, पुर्व तर्फ झाँक्री महाराज र पश्चिमतर्फ ईच्छाधारी नाग रहेका छन ।
साधक प्रकट आनन्द जीका अनुसार डहरेदेउरालीमा गुफा रहेको बताउनु भएपनि खोजी कार्य भइरहेको र हाल सम्म उहाँले भनेजस्तो गुफा फेला परेको छैन।” यस क्षेत्रको धार्मिक महत्वलाई उजागर गर्ने लक्ष्यका साथ २०४३ सालमा योगी नरहरिनाथको सक्रियतामा धान्याञ्चल महायज्ञ गरिएको २०३२ सालदेखि उक्त स्थानको संरक्षण एवम् पूजाआजा गर्दै आउनुभएका पशुपत्यानन्द गिरीले जानकारी दिनुभयो ।
धान्याञ्चलका क्रममा मुक्तिनाथबाट अग्निज्वाला ल्याइएको जानकारी दिँदै उनले उक्त अग्निज्वाला अहिले पनि निरन्तर बलिरहेको छ उहाले भन्नुभयो । गण्डकी प्रदेशको राजधानी पोखराबाट करिब ६३ कि।मी। दुरी टाढा रहेकोमा ५७ कि।मी। पिच सडक र ६ कि।मी। कच्ची सडक रहेको छ । डहरे देउराली समुन्द्र सतहबाट करिब २ हजार २ सय ५९ मिटर रहेको छ । स्कन्द पुराणमा उल्लेख भएअनुसार, यस पर्वत परापूर्वकालमा महान् ऋषिमुनिहरूले तपस्या, ध्यान र योग गर्ने थलो थियो । यस पर्वतलाई ‘नीलकण्ठ पर्वत’ को नामले पनि पुकारिन्छ । यस विशाल पहाड पर्वत जिल्लाको कार्कीनेटा, थापाठाना र भंगारा तथा स्याङ्जा जिल्लाको आरुचौर र पञ्चमूल गाउँको सीमावर्ती क्षेत्रमा पर्छ ।
भानुभक्तको वाल्मीकि रामायणको अशमेद काण्डमा पनि यस पर्वतबारे निकै सुन्दर ढंगबाट व्याख्या गरिएको छ । यस लेक र देउरालीलाई धार्मिक रूपमा पनि निकै मान्यता दिइएको यस दृष्टान्तबाट पुष्टि हुन्छ । यो नीलकण्ठ पर्वतबाट कसरी डहरे देउराली बन्यो रु यसको कथा रोचक कथा छ, योगी नरहरिनाथले लेखेका छन्, ‘यस पहाडमा एक समय डहरा ऋषिले तपस्या गरेका हुनाले यस पहाडको नाम डहरे देउराली बन्न पुग्यो ।’
त्यसैगरी यस पर्वतमा लामा लामा धेरै डहर भएकाले यसको नाम ‘डहरे देउराली’ भएको हुन सक्ने पनि मान्छेहरूको अड्कल छ । यही पर्वतमा ब्रह्माचारी खडानन्द अधिकारीले ३७ वर्षसम्म कठोर तपस्या गरेका थिए । पौराणिक मान्यताअुनसार, निःसन्तान दम्पतीले यस स्थानको दर्शन गरेर बर मागेमा सन्तान प्राप्त हुने साथै मनको मानोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ ।
यस स्थानमा मानिसहरू विवाह, व्रतबन्धजस्ता विशेष शुभकार्य पनि गर्छन् । विशेषतः वाला चतुर्दशी, चैतेदसैँ, महाशिवरात्री, गुरुपूर्णिमा, बडादसैंजस्ता विशेष पर्वहरूमा पुजा अर्चनाको लागि भक्तजनहरुको ठूलो भिड लाग्ने गर्छ । साथै यहाँ विभिन्न प्रजातिका वनस्पति एवम् जडीबुटी पाइने स्थानीयवासी बताउँछन् । यहाँ पाँचऔले, हर्रो, बर्रो, सतुुवाजस्ता महत्चपूर्ण जडीबुटीका साथै चितुवा, भालुजस्ता विभिन्न प्रजातिका जङ्गली जनावर पाइन्छ । विभिन्न ५० भन्दा बढी प्रजातिका चराचुरुङ्गीको बासस्थान रहेको यस जङ्गलमा पैँयु, सल्लो, ओखर, खर्सु, उत्तिसजस्ता महत्वपूर्ण काठ समेत पाइन्छ ।