स्याङ्जा, १८ माघ । स्याङ्जा जिल्ला अस्पतालमा मंगलबारदेखि अक्सिजन प्लान्ट संचालनमा आएको छ ।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले अक्सिजन प्लान्ट को आजदेखि सुरुवात भएको जानकारी गराउनुभयो । मेशिन स्विच अन गर्दे प्रजिअ पौडेलले भने, ‘अक्सिजनका लागि जिल्लाले अव अन्त भर पर्नु पर्ने छैंन। बिजुलीका लागि नयाँ ट्रान्सफर्मर सहित अक्सिजन प्लान्ट संचालनमा आएको हो। जिल्लाबासीका लागि खुशीका कुरा हुन यी।’
कार्यक्रममा अस्पताल प्रमुख रमेश आचार्यले अवदेखि अस्पतालमा अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने बताउनुभयो । यहाँ उत्पादित अक्सिजनले स्याङ्जा जिल्लाभरको अक्सिजनको माग सहजै पुरा गर्न सकिने प्रमुख डा आचार्यको भनाई छ ।
संघिय सरकारको सहयोगमा भदौदेखि प्लान्ट निर्माण सुरु गरिएको हो । एक करोड ३६ लाखको लागतमा प्लान्ट निर्माण सम्पन्न भएको छ । अक्सिजन प्लान्ट १५ एनएमक्युब क्षमताको छ । प्रति घण्टा १५ हजार लिटर अक्सिजन उत्पादन गर्छ। दैनिक सरदर ७५ वटा अक्सिजन सिलिण्डर भर्ने क्षमताको छ । यसले १५ हजार लिटर प्रतिघण्टा अक्सिजन उत्पादन गर्ने र ८ हजार लिटर प्रतिघण्टा अक्सिजन भर्न सक्ने डा. आचार्यले जानकारी दिनुभयो । उहाका अनुसार भरिएको प्रति सिलिन्डरमा ६ देखि ८ हजार लिटर अक्सिजन हुन्छ ।
अक्सिजन प्लान्ट संचालन कार्यक्रममा अस्पताल ब्यवस्थापन समितिका पूर्व अध्यक्ष लोकराज शर्मा, जिल्ला समन्वय अधिकारी ऋषिराम आचार्य, प्रहरी उपरीक्षक राजिब बस्नेत, स्वास्थ्य प्रमुख बसुन्धरा शर्मा, बिद्युत प्राधिकरण स्याङ्जा शाखा प्रमुख प्रताप बराल लगायत सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत सहभागी थिए।